राजनीतिक अन्योलको हल्लाले सेयर बजारमा पहिरो, लगानीकर्ता आत्तिनु पर्ने अवस्था छ कि छैन ?

काठमाडौं, ११ फागुन । मंगलबार सेयर बजार खुलेदेखि नै आरोलो लागेको छ । बजार खुलेको सुरुवाती समयदेखि नै ओरालो लागेको बजारमा १:४५ बजेसम्म ६६ अंकले घटेर २५४० विन्दुमा आइपुगेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दाको फैसला एक दुईदिनमा आउन सक्ने हल्लाले सेयर बजार ओरालो लागेको विश्लेषकहरूले बताएका छन्।

सुरुवाती समयमा सकारात्मक सर्किट लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर आज नकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ। अन्य कम्पनीको सेयर मूल्य अधिकतम ५ प्रतिशत सम्म घटेको छ।

बैंक तथा वित्तीय क्षेत्रहरुकै बजारमा बाहुल्यता रहेको र वित्तीय विवरण पनि राम्रै आएकाले लगानीकर्ताहरु निराश हुनुपर्ने अवस्था नरहेको विज्ञहरुको दाबी छ ।

पछिल्लो तथ्यांक अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि कुनै प्रतिक्रिया नदिएको सेयर बजारको करेक्सनलाई लगानीकर्ताहरुले चासोको रुपमा लिएका छन् ।

सेयर बजारका विश्लेषकहरुले भने अहिले आत्तिनु पर्ने अवस्था नरहेको बताउँछन् । मंगलबारको पहिरो नभई बजार करेक्शनको रुपमा मात्रै बुझ्नु पर्ने विश्लेषकहरुको दाबी छ । बजार लगातार बढ्यो र कुनै एक दिन घट्यो भने त्यसलाई करेक्शन भएको भनिन्छ ।

यसअघि नेप्से मंसिर २१ गते १२३ अंकले घटेको थियो । नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार अवधि नसकिँदै कारोबार स्थगित भएको थियो ।

उनीहरूका अनुसार राजनीतिक अन्योल बढ्ने हल्लाले बजारलाई प्रभावित गरेको हो ।

बैंकिङ प्रणालीमा अहिले पनि तरलता पर्याप्त रहेकाले बजार घट्नुपर्ने अरु सम्भाव्य कारण नरहेको विश्लेषक बताउँछन् ।