शेयर बजार राताम्मै : नेप्से साढे ५९ अंकले घट्दा दुई कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १८ फागुन । साताको तेस्रो कारोबार दिन आजपनि शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ५९.७० अंकले घटेर २४५५.३३ अंकमा झर्यो । यो संख्या सोमबारको तुलनामा २.३७ प्रतिशत कम हो ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ९.८० अंकले घटेर ४४३.९५ अंकमा झरेको छ ।

आज ट्रेडिङ र होटल एण्ड टुरिजम बाहेक अन्य सबै समुहको सूचक घट्यो । ट्रेडिङ समुहको सूचक ९.१८ प्रतिशत बढ्यो भने होटल एण्ड टुरिजमको ०.८० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको घट्यो । उत्पादन तथा प्रशोधनको २.७६ प्रतिशत घट्यो । त्यस्तै, निर्जीवन बीमाको २.६५ प्रतिशत, लघुवित्तको २.६५ प्रतिशत घट्यो ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकममा भने वृद्धि भएको छ । आज २०८ कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ९६ लाखको कारोबार भयो ।

मंगलबार दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आज साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको मूल्यमा पोजेटिभ सर्किट लागेको हो । साल्ट ट्रेडिङको मूल्य ९.९९ प्रतिशत बढ्यो भने चन्द्रागिरीको ९.८९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ७.३१ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार एशियन लाइफ इन्स्योरेन्सले गर्यो । कम्पनीले २८ करोड २६ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here