भुइँमा बसेर खाना खानु स्वास्थ्यको लागि फाइदाजनक

काठमाडौं । हिजोआज डाइनिङ टेबुल कुर्सीमा बसेर खाना खाने चलन निकै बढेको छ । तर, गाउँघरमा अझैपनि भुइँमा पलेँटी कसेर बसेरै खाना खाने गरिन्छ । टेबलकुर्सीमा बसेर खानुभन्दा भुइँमा पलेँटी कसेर खाना खाँदा स्वास्थ्यमा फाइदा पुग्ने एउटा अध्ययनले देखिएको छ ।

भुइँमा बसेर खाना खानाले स्वास्थ्यमा धेरै सकारात्मक प्रभाव पार्नुका साथै धेरै रोगहरूबाट पनि सुरक्षित राख्ने गरेको अध्ययनले देखाएको छ । भुइँमा बसेर खाना खानु पनि योगासनको एक प्रकार हो । भुइँमा बसेर खाना खाँदा हामी एक खुट्टामाथि अर्को खुट्टा राखेर बस्छौँ, जुन सुखासन वा पद्मासनको मुद्रा हो । यी दुवै आसनहरूले एकाग्रता बढाउँछ । भुइँमा बसेर खानाले मानसिक तनाव पनि कम हुन्छ । भुइँमा बसेर खाँदा खाना लिनका लागि केही अगाडि झुक्नुपर्ने तथा खानका लागि शरीरले पहिलेकै अवस्थामा फर्किनुपर्ने हुन्छ ।

निरन्तर अगाडि–पछाडि हुने प्रक्रियाले पेटको मांसपेशीलाई निरन्तर क्रियाशील बनाइरहन्छ, जसका कारण पाचन प्रणालीमा सुधार भई खाना चाँडै पच्ने हुन्छ । भुइँमा बसेर खाँदा शरीरको मुद्रा राम्रो हुन्छ, जसले शरीरको धेरै समस्या हटाउन सक्छ । यसले मांसपेशीहरू बलियो बनाउनुका साथै शरीरमा रक्त सञ्चार सुधार गर्छ ।

भुइँमा बसेको मुद्राले मेरुदण्डको तल्लो भागमा जोड दिन्छ, जसले सासको गति नियन्त्रण गर्न, मांसपेशीको तनाव कम गर्नुका साथै रक्तचापलाई पनि कम गर्न मद्दत गर्छ । भुइँमा बसेर खानाले जोर्नी, घुँडा र खुट्टाको लचिलोपनलाई बढाउँछ । यस लचिलोपनले जोर्नीको दुखाइको समस्या हुनबाट जोगिन सक्छ । जसका कारण उठ्न र बस्न कुनै समस्या हुँदैन ।

भुइँमा सही आसनमा बसेर खाना खानाले स्नायु तन्किने समस्या पनि हटाउँछ । यसले मुटुको वरपरको दबाबलाई पनि कम गरी मुटुलाई पनि बलियो बनाउँछ । मुटुको समस्या भएमा मानिसले खाना पकाउनु वा खानका लागि टेबल–कुर्सीमा बस्नुको सट्टा भुइँमा बस्नु उचित हुन्छ ।

भुइँमा बसेर खाना खानाले तौल पनि सन्तुलित राख्न मद्दत गर्छ । भुइँमा बसेर खाँदा पाचन प्रणाली प्राकृतिक अवस्थामा हुन्छ । यसले पाचन रसलाई अझ राम्रो तरिकाले काम गर्न अनुमति दिन्छ । एकै साथ उनीहरूको स्राव पनि राम्रो प्रभाव पार्छ । साथै, बस्नु र उठ्नु पनि एक राम्रो व्यायाम हुने कारण भुइँमा बसेर खानाले तौल अनियन्त्रित हुँदैन ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here