थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

काठमाडौं, २३ फागुन । बाग्मती प्रादेशिक कार्यालय प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ ।

परियोजनाको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शनिबार एक कार्याक्रमको माझ उद्घटन गरेका हुन् ।

कार्यालय स्तरोन्नतिअन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्याङ्क तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका काम सम्पन्न गरेर डिपो री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरिएको हो ।

करीब एक वर्षको अवधिमा परियोजनाको पहिलो चरण सम्पन्न भएको र डिपोमा व्यापक सुधार आएको जिकिर निगम व्यवस्थापनले गरेको छ ।

इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याङ्करमा तेल भर्ने प्वाइन्टको सङ्ख्या दोब्बर बनाइएको छ । जसका कारण तेल भर्न ट्याङ्कर लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

डिपो आसपास क्षेत्रमा रहेको अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ । चन्द्रागिरी नगरपालिकाको ३ नम्बर वडामा पर्ने निगमको थानकोट डिपो २०५८ सालदेखि सञ्चालनमा आएको हो ।

१०६ रोपनी क्षेत्रमा फैलिएको निगमको यस डिपोमा ८,४०० किलो लिटर डिजेल, ६०७० किलो लिटर पेट्रोल तथा ७६० किलो लिटर मटितेल भण्डारण क्षमताका ट्यांकहरू रहेका छन् ।

बढ्दो जनसंख्या, उपभोक्ताको जीवनस्तरमा आएको सुधार, सडकमार्गको विस्तार, सवारी साधनको संख्यामा भएको बृद्धि तथा यस क्षेत्रमा निरन्तर बृद्धि हुदै गईरहेको आर्थिक क्रियाकलापको कारणले गर्दा पेट्रोलियम पदार्थको मागमा बार्षिक करिब १० प्रतिशतका दरले बृद्धि हुदै गईरहेको निगमले जनाएको छ।

कार्यक्रममा मन्त्रालयका सचिव तथा निगम संचालक समितिका अध्यक्ष श्री दिनेश भट्टराई, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सह-सचिव एवं निगम संचालक समितिका पदाधिकारीहरु, निगमका कार्यकारी निर्देशक, निगमका नायव कार्यकारी निर्देशक, निर्देशकहरु तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनका अध्यक्ष, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष,बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष, काभ्रे पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लगायत उपस्थिति रहेको निगमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here