२७ वाणिज्य बैंकको कुल कर्जा तथा सापटी ३० खर्ब, यी हुन धेरै कर्जा प्रवाह गर्ने ५ बैंक

जितेन्द्र खनाल

काठमाडौं, २४ फागनु । चालु आर्थिक वर्षको ६ महिनासम्म २७ वटा वाणिज्य बैंकले कुल करिब ३० खर्ब ५३ अर्ब ३९ करोड रुपैयाँ कर्जा तथा सापटी प्रवाह गरेका छन् ।

गत वर्षको पुससम्मको तुलनामा चालु आवको सोही अवधिमा प्रवाह भएको वाणिज्य बैंकहरुको कुल कर्जा तथा सापटी १२ प्रतिशतको हाराहारीले बढेको हो । गत असारको तुलनामा भने पुससम्म यस्तो कर्जा प्रवाह करिब ६ प्रतिशतले मात्र बढेको देखिन्छ ।

कोभिड–१९ को जोखिमबाट बच्च सरकारले गत चैत ११ देखि मुलकभर लकडाउन सुरु गरेको थियो । लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा नराम्ररी प्रभावित भयो ।

जसकाकारण वैशाख, जेठ, असार, साउन र भदौं अन्तिम सातासम्म बैंकहरुको कर्जा प्रवाह ठप्प जस्तै भयो । तर, भदौं अन्तिम साता देखि कर्जा प्रवाह विस्तारै बढ्न थाल्यो । असोज देखि कर्जा प्रवाहले गति लियो । जसको कारण गत पुससम्म आइपुग्दा कर्जा प्रवाह उल्लेख्य बढ्यो । जुन गत आर्थिक वर्षको ६ महिनाकोभन्दा बढी हो ।

यी हुन धेरै ऋण दिने ५ बैंक

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्जा प्रवाहका हिसाबले अघि रहेका प्रमुख ५ बैंकहरुमा क्रमशः एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, सिदार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छन् ।

एनआईसी एसिया

बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार गत पुससम्म एनआईसी एसिया बैंकले सबैभन्दा बढी २ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

ग्लोबल आइएमई बैंक

एनआईसी एसिया पछि धेरै कर्जा प्रवाह गर्ने बैंक ग्लोबल आइएमई हो । पुससम्म यो बैंकको कुल कर्जा तथा सापटी २ खर्र्ब १३ अर्ब रुपैयाँभन्दा धेरै छ । गत वर्ष यो बैंकले जनता बैंकलाई गाँभेको हो । यसकारण पनि यो वर्ष ग्लोबल आईएमइ बैंकको नाफा, कर्जा प्रवाह, निक्षेपलगायत धेरै सूचकहरुमा उल्लेख्य सुधार भएको छ । सोही अनुपातमा वासलातको आकार पनि बढेको हो ।

नबिल बैंक

निजी क्षेत्रको लगानी भएको पहिलो बैंक र विगत लामो समय देखि वित्तीय प्रणालीको नेतृत्व गर्दै आएको बैंक भएपनि यो बैंकलाई अहिले अरु बैंकले नै उछिनेका छन् । यद्यपि यो बैंकले गत ६ महिनामा १ खर्ब ७९ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेको छ ।

सिद्धार्थ बैंक

कर्जा प्रवाहको हिसाबले चौंथो नम्बरमा सिद्धार्थ ६ बैंक परेको छ । गत पुससम्म यो बैंकको कुल कर्जा तथा सापटी १ खर्ब ४३ अर्ब रुपैयाँ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले कुल १ खर्ब ४२ अर्ब रुपैयाँ कुल कर्जा तथा सापटी प्रवाह गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो बैंकको कर्जा तथा सापटी करिब ५ अर्ब रुपैयाँले बढेको हो । गत वर्षको पुससम्म यस्तो कर्जा तथा सापटी १ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।

यसैगरी बाँकी २२ ले पनि कर्जा तथा सापटी विस्तार गरेको देखिन्छ । जसअनुसार धेरै कर्जा प्रवाह गर्ने बैंकहरुमा क्रमशः राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, प्रभु बैंक, मेगा बैंक, प्राईम बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स् बैंक, बैंक अफ काठमाण्डू, सनराइज बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक, नेपाल बंगलादेश बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here