सोमबारसम्म कतिले भरे ज्योति लाइफको आइपीओ ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा मागभन्दा साढे ४ गुणा बढी आवेदन परेको छ ।

सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार ५ बजेसम्म १३ लाख ७६ हजार ७६१ जनाले २ करोड ९८ लाख ७७ हजार ५४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ४.५२ गुणा बढी हो ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । नेपालमा हाल आइपीओमा लगानीकर्ताको अधिक आकर्षण रहेको छ ।

पछिल्ला आइपीओहरुमा लगातार जसो झण्डै १५ लाख लगानीकर्ताले आवेदन दिएका छन् । यस्तै, नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्यामा पनि दिनदिनै वृद्धि हुँदै गएको छ ।

पछिल्लो समय खुलेको महिला लघुवित्तको ३ लाख ७५ हजार कित्ता आइपीओका लागि पनि झण्डै १५ लाख सर्वसाधारणले आवेदन दिएका थिए ।

यस आधारमा, ज्योति लाइफको आइपीओ पाउन पनि भाग्यमा भर पर्नुपर्ने देखिन्छ । किनभने, ज्योतिको ५९ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनसक्नेछ ।

उक्त सेयर १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ५ लाख ९४ हजार जना लगानीकर्तालाई मात्र दिन पुग्छ । त्यसैले नै १० कित्ताको लागि नै आवेदन दिनु उपयुक्त हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here