दुई करोड ४७ लाख नेपालीको पहुँचमा इन्टरनेट, डेटा प्रयोग गर्ने कति ?

काठमाडौं, २५ फागुन । नेपालमा विभिन्न सेवा प्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २ करोड ४७ लाख ३५ हजार ६ सय ५० जना पुगेको छ ।

जसमा १ करोड ८० लाख मानिसले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणको पुस मसान्तसम्मको म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (एमआइएस) रिपोर्टको अनुसार नेपालमा ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता मध्ये १ करोड ८० लाख २६ हजार ६ सय ४६ जनाले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार तारको मद्दतमा ब्रोडव्याण्ड चलाउने ६४ लाख ७६ हजार २ सय २३ जना रहेका छन् । त्यस्तै तार बिना ब्रोडव्याण्ड प्रयोग गर्ने मानिसको संख्या २ लाख ३४ हजार ७ सय ७२ जना रहेको छ ।

नेपाल टेलिकमको इनटरनेट प्रयोगकर्ता १ करोड २५ लाख

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने मानिसको कुल संख्यामध्ये १ करोड २५ लाख नेपाल टेलिकमकै प्रयोगकर्ता छन् ।

कुल १ करोड २५ लाख १५ हजार ५ सय २७ जना टेलिकमको मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेकोमा फोरजी प्रयोगकर्ताको संख्या २३ लाख ८३ हजार २ सय ५६ जना छ भने थ्रिजी प्रयोगकर्ताको संख्या ८६ लाख ३४ हजार २ सय ७७ जना छ ।

एनसेल/स्मार्टसेल

एनसेलको मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या ६६ लाख ५२ हजार ८ सय ३२ जना रहेको छ । जसमा ४० लाख ८६ हजार १ सय ३९ जनाले फोरजी प्रयोग गर्छन् भने २५ लाख ६६ हजार ६ सय ९३ जनाले थ्रिजी प्रयोग गर्छन् ।

यस्तै, स्मार्ट सेलको मोबाइलबाट इन्टरनेट चलाउने मानिसको संख्या २ लाख १९ हजार ७ सय ८ जना रहेको छ । यी सबै मानिसले फोरजी प्रयोग गर्छन् ।

एनसेल र स्मार्टको मोबाइल इन्टरनेट मात्रै छ भने नेपाल टेलिकमको एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन र वाइम्याक्स सेवा पनि प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here