काठमाडौं, २७ फागुन । ग्रीन लाइफ हाइड्रोपावरको आइपीओ शेयर धनीको खातामा आएको छ । सिडीएससीले लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो ।
कम्पनीले GLH सिम्बोल पाएको छ । कम्पनी लिमिटेडले माघ २३ गतेदेखि माघ २७ गतेसम्म आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
हाल कम्पनीको उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् । सम्भवत कम्पनीको आइपीओ शुक्रबार नेप्सेमा सूचिकृत हुनेछ ।
त्यस अनुसार शुक्रबार शेयर सूचीकृत भएमा आउने आइतबारदेखि कम्पनीको शेयर कारोबारमा खुल्नेछ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम मूल्य ९९ रूपैयाँ ६७ पैसादेखि अधिकतम २९९ रूपैयाँ एक पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
सेबोनमा प्रकाशन भएको विवरण पत्र अनुसार ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ९९ रूपैयाँ ६७ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २९९ रूपैयाँ एक पैसा हुन्छ ।
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।