५ वर्षसम्मका बच्चाहरुले दैनिक १ घन्टा भन्दा धेरै इलेक्ट्रोनिक्स स्क्रीन हेर्नु खतरनाक

काठमाडौं । कामको चाप र व्यस्त जीवनशैलीको कारण अहिलेका आमाबुबाहरुले पर्याप्त समय दिन पाउँदैनन् । घरमा अरु काम गर्दा बच्चालाई भुलाउनको लागि उनीहरुलाई मोबाईल, ट्याब्लेट चलाउन दिने वा टिभी हेर्न दिने गरिन्छ ।

कार्टुन हेर्न, गेमहरु खेल्न पाएपछि बच्चा पनि खुसी बाबुआमाले पनि अरु काम गर्न पाउने भएकाले मोबाईल र टिभी बच्चाहरु भुलाउने सजिलो विकल्प भएको छ ।

तर, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने यस्तो बानी धेरै खतरनाक हुने भन्दै यसो नगर्न चेतावनी दिएको छ ।

डब्लुएचओले एक निर्देशन जारी गर्दै बच्चाहरूको राम्रो स्वास्थ्यका निम्ती उनीहरुलाई विद्युतीय स्क्रिनबाट टाढा राख्न आग्रह गरेको हो ।

डब्लुएचओका अनुसार इलेक्ट्रोनिक स्क्रीन हाम्रो जीवनमा महत्वपूर्ण भएपनि ५ वर्ष भन्दा कम उमेरका बच्चाहरुलाई दिनको १ घन्टा भन्दा धेरै स्क्रीन सामु राख्नु हुँदैन ।

निर्देशनमा के भनिएको छ ?

— १ वर्ष वा त्यसभन्दा कम उमेरको नवजात शिशुहरुलाई स्क्रीनको सामु नराख्नुहोस् । १वर्षसम्मका बच्चाहरु जति शारीरिक रुपमा सक्रिय हुन्छन् उनीहरुलाई त्यो नै राम्रो हुन्छ ।

— १ देखि २ वर्ष सम्मको बच्चाहरुलाई केहि मिनेटको स्क्रीन टाइम नै काफी हुन्छ । उनीहरुलाई दैनिक ३ घन्टाको शारीरिक क्रियाकलाप आवश्यक हुन्छ ।

— ३ देखि ४ वर्ष सम्मका बच्चाहरुलाई दिनमा १ घन्टा भन्दा धेरै स्क्रीनमा राख्नु हुदैन । चाहे त्यो टीभी होस् वा चाहे स्मार्टफोन । यो उमेरका बच्चाहरुले दिनमा ३ देखि ४ घन्टा शारीरिक क्रियाकलापमा भाग लिनु पर्छ ।

के हुन्छ धेरै समय स्क्रिन अगाडि बसेमा ?

डब्लुएचओका अनुसार आजभोली ५ वर्ष भन्दा कम उमेरका बच्चाहरुले स्क्रीनमा धेरै समय बिताउने गरेका छन् । यस्ता बच्चाहरुको जिवनशैली निष्क्रिय र गतिहीन हुन्छ र जुन कारणले गर्दा उनीहरुको सक्रियताको स्तर कम हुन्छ र निन्द्रा नलाग्ने समस्या देखा पर्न सक्छ ।

यस्ता बच्चाहरुलाई पछि गएर मोटोपन मात्र नभएर विभिन्न रोगहरुको सामना गर्नु पर्ने र मानसिक सन्तुलनमा पनि असर पर्ने भएकाले बच्चालाई धेरै समय स्क्रिन अगाडि नराख्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here