ल्यापटप किन्दै हुनुहुन्छ ? यस्तो छ ब्राण्ड अनुसारको मूल्य

काठमाडौं । कामकाजी मानिसहरु होउन् वा विद्यार्थीहरु सबैको लागि अत्यावश्यक ग्याजेट बनेको छ, ल्यापटप । सूचना र प्रविधिको विकाससँगै ल्यापटप मानिसको दैनिक जीवनको अभिन्न अंग बन्दै गइरहेको छ ।

प्रविधिको जमानामा आफ्ना कामहरुलाई छिटो–छरितो र गुणस्तरीय बनाउन यी वस्तुहरु अनिवार्यजस्तै हुन्छन् ।

मानिसको हातहातमा स्मार्टफोन पुगेसँगै ल्यापटपको प्रयोग घट्ने धेरैले अड्कल गरेपनि ल्यापटपको लोकप्रियता र व्यापार घटेको छैन ।

व्यावसायीक कामहरुको लागि आजकाल धेरैले डेस्कटप कम्युटर भन्दा ल्यापटप नै रोज्छन् । बोकेर हिड्न पनि सहज हुने र बिजुली नभएको बेलामा पनि काम गर्न मिल्ने भएकाले ल्यापटपको प्रयोग बढ्दो छ ।

बजारमा विभिन्न ब्राण्डका विभिन्न मोडल र क्षमताका ल्यापटप पाइन्छन् । काम र प्रयोगको प्रकृतिअनुसार विभिन्न खालका ल्यापटप उपलब्ध छन् ।

व्यावसायीक कामहरु गर्नको लागि उच्च क्षमता र गतिका ल्यापटप छन् भने विद्यार्थीहरुको लागि इन्टरनेट चलाउन र अध्ययनको लागि मध्यम क्षमताका ल्यापटप पनि पाइन्छन् ।

ल्यापटप किन्दा के कुरामा ध्यान दिने ?

ल्यापटप किन्ने सोचमा हुनुहुन्छ भने तपाईंले त्यसको डिजाइन र लुक्समा भन्दा पनि प्राविधिक पक्षमा ध्यान दिनुपर्छ । विशेषगरी प्रोसेसर, र्याम, बेट्रीलाइफ, स्टोरेज स्क्रिन आदी प्राविधिक पक्षमा विचार गरेर आफ्नो बजेट अनुसारको उपयुक्त ल्यापटप किन्नुपर्छ ।

प्रोसेसर भनेको ल्यापटप वा कम्प्युटरको मुख्य इन्जिन हो । अहिले बजारमा आइ थ्री, आइ फाइभ, आइसेभेन र आइनाइन गरी चार थरी प्रोसेसरयुक्त ल्यापटप पाइन्छन् ।

उच्च ग्राफिक्सयुक्त सफ्टवेयरहरु चलाउनुपर्छ भने आइनाइन प्रोसेसर युक्त ल्यापटप नै किन्नु राम्रो हुन्छ जुन महंगो हुन्छ ।
तर, तपाईंको बजेट कम छ र इन्टरनेट चलाउने, माइक्रोसफ्ट वर्ड, एक्सेलमात्रै चलाउनुहुन्छ वा फिल्म हेर्नुहुन्छ भने आइथ्री, आइफाइभ र आइसेभेन ल्यापटप लिएपनि हुन्छ । तुलनात्म रुपमा आइसेभेन ल्यापटप पनि आइथ्री, आइफाइभ भन्दा महङ्गो भने छ ।

ल्यापटप किन्दा अर्को ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा भनेको यसको र्याम हो । सामान्य कामको लागि पनि ४ देखि ८ जिबीको र्याम भएका मध्यम स्तरका ल्यापटप पनि उपयुक्त हुन्छ ।

त्यस्तै स्टोरेज, बेट्रीलाईफ र स्क्रिनको साइज र रिजोलुसनमा पनि ध्यान दिनुपर्छ । तपाईंलाई धेरै ठूला ठूला फाइलहरु राख्नुपर्छ भने हार्ड ड्राइभको क्षमता धेरै भएको ल्यापटप लिनुहोस् ।

सबैको लागि बेट्रीलाईफ धेरै भएको ल्यापटप उपयुक्त हुन्छ । त्यस्तै स्क्रिनको साइज र रिजोलुसनमा पनि ध्यान दिनुहोस् । ल्यापटप लिँदा एचडी क्वालिटीको हाइ रिजोलुसन युक्त ल्यापटप लिनु राम्रो हुन्छ ।

नेपालमा कस्ता ल्यापटप धेरै बिक्री हुन्छन् ?

नेपालमा विभिन्न ब्राण्डका ल्यापटप बजारमा पाइन्छन् । एप्पलको म्याकबुक, डेल, तोसिबा, एचपी, सामसुङ, लेनोभो, एसर, सोनी लगायतका ब्राण्डका ल्यापटप सजिलै किन्न सकिन्छ ।

ती मध्ये पनि खासगरी डेल, लेनोभो, एचपी र एसर ब्राण्डका ल्यापटपहरुको माग र बिक्री धेरै हुने गरेको कुरा व्यावसायीहरु बताउछन् । ती मध्ये पनि बिक्रिको हिसाबले अमेरिकी कम्प्युटर निर्माता डेलका ल्यापटप अग्र स्थानमा रहेको छ ।

कुन ब्राण्डको कति मूल्य ?

नेपालमा डेल ब्राण्डका ल्यापटपको मुल्य ३१ हजार रुपैयाबाट सुरु भई ३ लाख ३० हजार रुपैयाँसम्म रहेको छ ।

त्यस्तै, लेनोभो ब्राण्डका ल्यापटपहरुको मुल्य ५९ हजार रुपैयाँ देखि सुरु भई २ लाख १५ हजार रुपैयासम्म रहेको व्यावसायीहरु बताउँछन् ।

एचपी ब्राण्डका ४७ हजार रुपैयाँ देखि २ लाख २५ हजार सम्मका ल्यापटपहरु पाइन्छन् भने, एसर ब्राण्डका ५० हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म रहेको छ ।

अमेरिकी एप्पल ब्राण्डका १ लाख ४५ हजार रुपैयाँ देखि २ लाख ६५ हजार सम्मका ल्यापटपहरु पाइन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here