‘निफ्रासँग अहिले १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता छ’-सीईओ खतिवडा

काठमाडौं, १ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले निफ्रासँग अहिले पनि १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा बोल्दै उनले अहिले पनि निफ्रासँग करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यससम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए ।

बैंकले चालू आर्थिक वर्षभित्रै डलरमा बोण्ड जारी गर्न लागेको खतिवडाले बताए । शुरुमा करीब २ करोड ५० लाख अमेरिकी डलर देखि ३ करोड डलरसम्मको बोण्ड जारी गरिने छ ।
सो बोण्डलाई लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत गरिने उनले जानकारी दिए ।

‘चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने गरी ३० मिलियन डलरको बोन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं,’ उनले भने ।

सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने छन् । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बोन्ड जारी हुने पनि उनले जानकारी दिए । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने छ ।

निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे ।

‘यो दीर्घकालिन प्रकृतिका पुर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,’ खतिवडाले भने ।

नाफिज संवादमा अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि साप्ताहिक रुपमा संवाद कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here