ज्योति लाइफको आइपीओ बाँडफाँड अर्को साता, कर्मचारीको भागमा १ हजार कित्ता !

काठमाडौं, ३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले चैत्रको दोस्रो सातामा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटलका अनुसार रुरु जलविद्युत परियोजनाले आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपछि मात्र ज्योति लाइफको बाँडफाँड गर्ने तयारी थालेको हो ।

रुरुको आइपीओ यसै साता बाँडफाँड गर्ने क्यापिटलको तयारी छ । ज्योतिको आइपीओमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ६.४ गुणा बढी हो ।

ज्योतिको आइपीओमा परेको आवेदन हालसम्मका कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि महिला लघुवित्तको आइपीओमा सबैभन्दा धेरै १५ लाख ४९ हजारले आवेदन दिएका थिए ।

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरु र ५९ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

यस आधारमा इन्स्योरेन्सका प्रत्येक कर्मचारीले १ हजार ६ कित्ता आइपीओ पाउने छन् ।

हाल कम्पनीमा ३ सय २८ जना कर्मचारी रहेका छन् । ३ लाख ३० हजार कित्ता सेयर ३ सय २८ जना कर्मचारीलाई भाग लगाउँदा १ हजार ६ कित्ता शेयर भागमा पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here