काठमाडौं ४ चैत । नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको भेलाको अहिले उद्घाटन सत्र चलिरहेको छ ।
दुईदिन चल्ने भेलामा सहभागी हुन देशभरबाट समूहका नेता-कार्यकर्ताको सहभागिता छ । अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध भेला गरेको सो समूहको भनाइ छ ।
भेलामा केन्द्रीय समितिका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ । टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको एमाले नेपाल पक्षले जनाएको छ ।
भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । भेला बिहीबारसमम चल्ने छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेका थिए ।
अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गर्दै आएको छ । अध्यक्ष ओलीले नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेका थिए । पार्टीमा ओलीले एकलौटी गरेपछि नेपाल समूहले भेला आयोजना गरेको हो ।
आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए ।