राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, बुधबारदेखि भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं,२० जेठ । राजधानीमा बुधबारदेखि आयोजना हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को तयारी पूरा भएको छ ।

सोमबार राजधानीमा भएको पत्रकार सम्मेलनमार्फत आयोजकहरुले यसको जानकारी गराएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा जेठ २२ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ आयोजना हुने भएको हो ।

आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना गरिन लागेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले बताए ।

२०४२ सालमा १६ जिल्लाका १६ जना उद्यमीहरुलाई भृकुटीमण्डपमा भेला पारि घरेलु तथा साना उद्योग विकास समितिले सरकारी तवरबाट केन्द्रियस्तरमा शुरु गरेको सानो औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै ३० औँ श्रृङ्खलामा आइपुगेको उनले बताए ।

यस कार्यक्रमले लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा मूलप्रवाहीकरण गर्ने र उद्यमीलाई सम्मान तथा पुरस्कृत गरी हौसला प्रदान गर्दै आएको छ ।
२०४६ सालदेखि कार्यक्रममा उत्कृष्ट उद्यमी पुरस्कार समेत समावेश गरी सञ्चालन हुदै आएको कार्यक्रमले अहिलेसम्म आइपुग्दा सयौं लघु घरेलु तथा साना उद्यमीलाई पुरस्कृत गरी सकेको सिंहले बताए ।

महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले हालसम्म चार लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएको भए तापनि आर्थिक वर्ष २०७४र७५ सम्मको तथ्याङ्क हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगहरुको संख्या तीन लाख २१ हजार १३ देखिएको बताउँदै तीमध्ये घरेलु उद्योगको संख्या १७ हजार २८९ रहेको जानकारी दिए ।

प्रदर्शनीमा जम्मा २ सय लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने छन् जसमध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको जनाईएको छ ।

प्रदर्शनी अवधीमा १ लाख ५० हजारले अवलोकन गर्ने र पाँच करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महासंघले बतायो ।
नेपालका ७७ वटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनहरुको छुट्टै प्याभिलियन रहने, महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसाय महासंघ र राष्ट्रिय लघु उद्यमी महासंघसंग सहकार्य गरेको महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here