अपर तामाकोशीको शेयर कारोबारमा उछाल, मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, ९ चैत । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ । सोमबार कारोबार शुरु भएदेखि नै बढेको तामाकोशी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको छ ।

तामाकोशीको शेयर मूल्य ६६ रुपैयाँले बढेर प्रतिकित्ता ७२६ रुपैयाँ पुगेको छ । २:३० बजेसम्ममा अपर तामाकोशीको ६ लाख ५७ हजार ९२३ कित्ता शेयर किनबेच भएको छ । भने ४६ करोड बढीको कारोबार भएको छ ।

देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको तामाकोशीको जलविद्युत् आयोजनाको टर्बाइनमा पानी खसाल्ने पाइप (बाइफर्केसन डिस्ट्रिब्युसन) को परीक्षण सफल भएपछि लगानीकर्ता उत्साहित हुँदा शेयर मूल्यमा उछाल आएको हो ।

आयोजनाले गत हप्तादेखि बाइफर्केसन डिस्ट्रिब्युसनको परीक्षण शुरु गरेको थियो भने परीक्षण सफल भएको जानकारी गराएको छ ।

आयोजनाको सबैभन्दा जटिल र संवेदनशील मानिएको यो पाइपको परीक्षण सफल भएपछि चैतभित्र बिजुली बाल्न सकिने आयोजनाले जनाएको छ । अब छिट्टै बिजुली निकालिने सम्भावना बढेसँगै लगानीकर्ता कम्प्नीको शेयरप्रति आकर्षित भएका छन् ।

आयोजनाको विद्युत्गृहमा ७६ मेगावाटका ६ वटा टर्बाइन रहेको छन् । ती मध्ये एउटा टर्बाइनबाट आगामी चैत्रभित्र बिजुली निकालिने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी निर्माण शुरु भएको १ दशक बिते पनि अझै निर्माण पूरा हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here