काठमाडौं १३ चैत । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
मष्तिकघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
मष्तिष्कघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो ।
५७ वर्षीय जोशी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री समेत रहेका थिए । जोशीको जन्म वि.सं. २०२० साल पुस २४ मा भएको थियो ।
शालीन तथा भद्र ब्यक्तित्वका धनि जोशी गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग झिनो मतले पराजित भएका थिए । पहिलाे र दाेस्राे संविधानसभाकाे निर्वाचनमा भने जाेशी साेही क्षेत्रबाट निर्वाचित भएका थिए ।
२०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए ।
२०४९ सालकाे स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकाे उप मेयरमा निर्वाचित भएका जाेशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जाेशीका श्रीमती र एक छाेरी छन् ।