बेइजिङ्ग विश्वका सबैभन्दा धेरै अर्बपति भएको शहर

काठमाडौं २६ चैत । चीनको राजधानी बेइजिङ्ग विश्वका सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको छ । फोर्ब्सले निकालेको विश्वका धनी व्यक्तिहरुको सूचीअनुसार चीनको राजधानी बेइजिङमा सबैभन्दा धेरै अर्बपति देखिएका हुन् ।

बेइजिङमा पछिल्लो वर्ष मात्रै ३३ जना अर्बपति थपिएका छन् । ३३ जनासहित बेइजिङ्गमा अर्बपतिको कुल संख्या १०० पुगेको छ । अमेरिकाको न्यूयोर्क सिटीलाई पछि पार्दै बेइजिङ्ग अग्रस्थानमा पुगेको हो । अमेरिकाको न्यूयोर्क शहरमा अर्बपतिको संख्या ९९ रहेको छ ।

विगत सात वर्षदेखि न्यूयोर्क शहर धनाढ्य अर्बपतिहरुको सूचिमा शीर्ष स्थानमा रहँदै आएको थियो । कोरोना भाइरसको महामारीमाथि चीनले तीव्र गतिमा कायम गरेको नियन्त्रण, प्रविधि क्षेत्रमा चिनियाँ कम्पनीको बढ्दो वर्चश्व र शेयर बजारले चिनियाँ धनाढ्यहरुलाई अर्बपतिको सूचिमा थप्ने क्रम तीव्र भएको हो ।

अर्बपतिको संख्या बेइजिङमा धेरै भए पनि अर्बपतिहरुको कुल सम्पतीमा भने न्यूयोर्क नै अघि छ । न्यूयोर्कका अर्बपतिहरुको कुल सम्पत्ती बेइजिङ्गका अर्बपतिको भन्दा ८० बिलियन अमेरिकी डलर बढी रहेको बताइएको छ । बेइजिङ्गका सबैभन्दा धनी व्यक्ति टिकटकका संस्थापक झ्याङ्ग यिमिङ्ग हुन् ।

उनीसँग कुल सम्पती ३५ दशमलव ६ बिलियन अमेरिकी डलर छ । न्यूयोर्कका धनी व्यक्ति पूर्व मेयर माइकल ब्लुमबर्गको कुल सम्पती ५९ बिलियन अमेरिकी डलर रहेको छ । अमेरिकामा अर्बपतिको संख्या ७२४ रहेको छ भने चीनमा ६९८ । यस वर्ष विश्वभर ४९३ जना अर्बपति थपिएका छन् । यो संख्याले हरेक १७ घण्टामा एक जना अर्बपति थपिने गरेको देखिएको छ ।

फोर्ब्सको सूचीअनुसार यो वर्षको विश्वकै सबैभन्दा धनी व्यक्ति अमेजन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस बनेका छन् । उनको कुल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर छ ।

गत वर्ष पनि एक नम्बरमै रहेका उनको सम्पत्ति १४६.९ बिलियन थियो । उक्त सूचीमा एलन मस्क दोस्रो स्थानमा छन् । टेस्ला कम्पनीका प्रमुख उनको सम्पत्ति १५१ बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी २१ नम्बरमा थिए । त्यतिबेला उनको सम्पत्ति ३५.६ बिलियन थियो ।

यस्तै, तेस्रो स्थानमा फ्रान्सको फेसन कम्पनीका प्रमुख बनार्ड अर्लन्ट परेका छन् । यो वर्ष उनको सम्पत्ति १५० बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी ९४.१ बिलियन अमेरिकी डलर सम्पत्तिसहित तेस्रो स्थानमै थिए ।

गत वर्ष दोस्रो स्थानमा रहेका बिल गेट्स यो वर्ष चौथो स्थानमा परेका छन् । यो वर्ष उनको कुल सम्पत्ति १२४ विलियन अमेरिकी डलर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here