लघु, घरेलु तथा साना औधोगिक प्रर्दशनी सुरु, ५ करोडको व्यापार लक्ष्य

-जितेन्द्र खनाल

काठमाडौं, २२ जेठ । काठमाडौंको भृकुटीमण्डपमा पाँच दिने ३० औं राष्ट्रिय लघु, घरेलु ताथ साना औंधोगिक प्रर्दशनी मेला सुरु भएको छ ।
मेला प्रर्दशनी अवधिभर १ लाख ५० हजार मानिसहरुले अवलोकन गर्ने र ५ करोड बराबरको व्यापार गर्ने लक्ष्य आयोजन नेपाल घरेलु तथा साना उद्योग महासंघले लिएको छ ।

मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त रुपमा रक्तचन्दनको विरुवा रोपी त्यसमा पानी हालेर गरेका थिए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले नेपालको अर्थतन्त्रमा साना तथा घरेलु उद्योगहरुको योगदान धेरै रहेकोले आगामी आर्थिक वर्षको बजेटमा यस्ता उद्योगलाई प्रोत्साहन गर्ने हिसाबको बजेट विनियोजन भएको बताए । ‘हामी उद्योगको क्षेत्रमा लगानी गर्नको लागि केही पछाडी पर्यौं तर अब यस्तो समस्या दोहोरिंदैन । आगामी वर्षको बजेटले उद्योगलाई उचित प्राथमिकता दिएको छ,’ उनले बताए ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकको कुल गार्हस्थ उत्पादनमा १५ प्रतिशत योगदान दिएको लघु तथा साना उद्योगको विकासको लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

उनका अनुसार आर्थिक वर्ष २०७४/७५ मा नवीकरण भएका कुल उद्योगको संख्या २ लाख ७७ हजार ३ सय ११ रहेको छ भने यस क्षेत्रमा २६ लाख ६ हजार ८६ जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।

यति धेरै मानिसहरुलाई रोजगारीको सिर्जना गरेको साना तथा लघु उद्योगहरुको विकासका लागि सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनु पर्ने उनले बताए ।
महिलाहरुलाई पनि औधोगिक क्षेत्रमा ल्याउने लक्ष्यअनुसार सरकारले महिला उद्यमी सुलभ कर्जा कार्यक्रम ल्याएकोमा स्वागत गर्दै विना धितो १५ लाख रुपैयाँ ऋण लिनको लागि ३ देखि ५ जना महिला उद्यमीको समूहको व्यवस्था हुनुपर्ने व्यवस्था राम्रो भए पनि एकल वा २ जनाको समूहलाई पनि ऋणको व्यवस्था हुने नियम बनाउनु उचित हुने सुझाव समेत उनले दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रत्येक नगरपालिका र गाँउपालिकामा एउटा भए पनि उद्योग खोल्नुपर्छ भन्ने कुरामा सरकार गम्भीर रहेको बताउँदै आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए ।

मेलामा नेपाली सिप र क्षमताबाट बानाईएका विभिन्न जाती वा समुदायका धेरै प्रकारका सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । दुई सय वटा स्टलहरु रहेको मेलामा छालाका जुत्ता, हस्तकलाका विभिन्न सामाग्री, भेडाको रौं र अन्य जनावरहरुको भुवाबाट बनाईएको राडी पाखी, रेशमको धागोबाट बनाईएको कपडा, ढाकाका कपडा, विभन्न प्रकारका जडिबुटी, विभिन्न प्रकारका जुस र धातुका भाडाँकुडा रहेका छन् ।

त्यसै गरी विभिन्न प्रकारका माला, पोते, मसलाहरु, जनावरहरुको चित्र भएको गलैंचा, चिया, अचारहरु र अन्य विभिन्न प्रकारका सामाग्रीहरु मेलामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here