सुशासन कायम गर्न जनतासँग घुलमिल हुनुस् : मन्त्री पण्डित

काठमाडौं, २३ जेठ । सरकारले जनताले विकासको अनुभुति गर्ने गरी काम गर्ने लक्ष्य लिएकाले जनतासँग सहकार्य गर्दै प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय पदाधिकारीहरूलाई आग्रह गरेका छन् ।

स्थानीय सरकारका पदाधिकारीहरुका लागि काठमाडौंमा सुरु भएको ४ दिने तालीम कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि मन्त्री पण्डितले स्थानीय निकाय विकासका प्रमुख संवाहक रहेको बताए ।

जति जनतासंग घुलमिल गरेर जान सकिन्छ त्यति नै सुशासन कायम गर्न सकिने भएकाले आफ्ना हरेक योजना र निर्णयमा स्थानीय जनतालाई साथै लिएर जान मन्त्री पण्डितले सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासद्वारा संयुक्तरूपमा प्रदेश ३ का स्थानीय सरकारका पदाधिकारीहरुका लागि संघीय शुसासनसम्बन्धी चार दिने तालीम कार्यक्रम बिहीबारदेखि शुरु भएको छ ।

महासंघका अध्यक्ष भवानी राणाले स्थानीय सरकारसँग निजीक्षेत्र समन्वयात्मक ढंगबाट अगाडी बढ्न र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाएकी छन् । त्यसैगरी, नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी संचालनमा सहयोग पु-याउने उद्देश्यले महासंघसँगको सहकार्यमा सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने र यसको पहिलो शुरुवात प्रदेश नम्वर ३ बाट गरिएको जानकारी गराए ।

संघीय सुशासन सम्बन्धी यो तालीम कार्यक्रम स्थानीय सरकारका पदाधिकारीहरूका लागि दैनिक सरकार संचालनमा महत्वपूर्ण र सहयोगी हुने विश्वास समेत राजदूत बेरीले प्रकट गरे ।

प्रदेश नम्वर ३ का स्थानीय सरकारका करीब ५० जना पदाधिकारीहरूको सहभागिता रहेको उक्त तालीमको डिजाइन अमेरिकास्थित मेरिल्याण्ड विश्व विद्यालयले गरेको हो । अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन (किरण) सिटौला, प्रेम दवाडी र राधा शर्मा आचार्यले कार्यक्रममा तालीम दिनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here