काठमाडौं, २३ जेठ । सरकारले बिना दर्ता सडकमा कुदिरहेका विद्युतीय स्कूटरलाई दर्ता प्रक्रियामा ल्याउने निर्णय गरेको छ । यससँगै अब विद्युतीय स्कूटरले अब यातायात व्यवस्था विभागमा दर्ता भई सवारी नम्बर लिनु पर्ने भएको छ ।
विभागले गत जेठ २० मा टाफिक प्रहरी निर्देशनालयलाई पत्र लेखि अब सडकमा बिना दर्ता चलिरहेका स्कूटरलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कुनै पनि सवारी खरीद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनी वा सवारी बिक्रि वितरण गर्ने एजेन्टले सवारी खरीद गरेको १५ दिन भित्र दर्ता गराइसक्नु पर्ने प्रावधान रहेको छ ।
यसअघि विद्युतीय स्कूटरहरु बिना दर्ता निर्वाध गुडिरहेका थिए । बढ्दो सवारी चापमा यात्रुको पहिचान र सुरक्षाका लागि पनि सबै सवारी साधन दर्ता प्रक्रियामा आउनु पर्ने विभागको भनाई छ ।
























