माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौं १५ बैशाख । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।

राष्ट्रियसभा सचिवालयले बुधबार उनलाई नेकपा(माओवादी केन्द्र) ले कारबाही गरेको सूचना टाँस गरेसँगै उनी पदमुक्त भएका हुन् ।

माओवादीले यही वैशाख १० गते खड्कालाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । खड्का लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए ।

संसद् सचिवालयले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम सूचना टाँस गरेको हो । राष्ट्रियसभा अधिवेशन चालु नभएकाले सचिवालयले सूचना निकालेको हो ।

माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेको भन्दै माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले उनलाई कारबाही गरेको पत्र पठाएका थिए ।

सोही पत्रको आधारमा राष्ट्रिय सभा सचिवालयले खड्का पदमुक्त भएको जनाएको छ । यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो । आगामी जेठ ६ गते राष्ट्रिय सभा उपनिर्वाचन तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here