सेयर बजारमा महिलालाई कर छुटको संकेत

काठमाडौं २५, जेठ । घरजग्गा रजिष्ट्रेशनमा जस्तै सेयर कारोबारमा पनि महिलालाई कर छुट दिने संकेत अर्थमन्त्री युवराज खतिवडाले देखाएका छन् । धितोपत्र बोर्डको २७औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले कर छुट दिएर भए पनि बजारमा महिलाको सहभागिता बढाउनु पर्ने बताएका हुन ।

घरजग्गा रजिष्ट्रेशनमा महिलालाई कर छुट दिएकै कारण अहिले शहरी क्षेत्रमा सम्पत्तिमा महिला स्वामित्व २८ प्रतिशत पुगेको उनले बताए । ‘सेयर बजारमा महिला सहभागिता बढाउनुपर्छ,’ उनले भने, ‘यसकालागि आवश्यक कर छुट पनि दिन सकिन्छ ।’

सेयर बजारमा महिला सहभागिता बढाउनका लागि आवश्यक गृहकार्य गर्न अर्थमन्त्री खतिवडाले बोर्डलाई आग्रह गरे । ‘धितोपत्र बोर्डले अलिकति गृहकार्य गरोस । अहिले हरेक आवेदनकलाई १०/१० कित्ताका दरले सेयर बाँड्ने कुरा छ । यसमा महिलालाई केही आरक्षण गर्न सकिन्छ । त्यो गर्दा म खुशी नै हुन्छु ।’

गत वर्ष सम्म सेयर बजारमा करिब ३ लाख महिला लगानीकर्ता छन् । सोही अवधिमा पुरुष लगानीकर्ताको संख्या ९ लाख ३३ हजार छन् । संस्थापक (कर्पोरेट) लगानीकर्ता सेयर बजारमा करिब ६ लाख ३३ हजार रहेको नेप्सेको तथ्यांक छ ।

नियामक निकायको हैसियतले धितोपत्र बोर्ड बलियो र प्रभावकारी बन्न पनि उनले आग्रह गरे । कमोडिटी मार्केटलाई संस्थापक रुपमा विकास गर्न, रेमिट्यान्सलाई सेयर बजारमा लगानीको वातावरण बनाउन पनि उनले बोर्डलाई निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here