दूरसञ्चार प्राधिकरणकाे अध्यक्ष छान्न सरकारले माग्याे आवेदन

काठमाडौं, २७ जेठ । सरकारले करीब ५ महिनादेखि रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदको लागि आवेदन माग गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार गोरखापत्रमा विज्ञापन गरी दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

विज्ञापनमा उल्लेख गरिए अनुसार ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्छन् । आवेदन बुझाउने अन्तिम मिति असार ९ गते सम्मको लागि तोकिएको छ ।

के के ताेकिएकाे छ त योग्यता ?

मन्त्रालयले प्राधिकरणको अध्यक्ष बन्नको लागि दूरसञ्चार क्षेत्रसँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरिक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने योग्यता तोकेको छ ।

त्यस्तै सम्बन्धित क्षेत्रमा कम्तीमा १० बर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ ।

सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्राकिंत प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव हुनुपर्ने छ ।

नेपालको कानून बमोजिम नियुक्ती हुन अयोग्य नठहरीएको व्यक्तिले आवेदन बुझाउन सक्नेछन् ।

आवेदकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक उपलब्धीका प्रमाणपत्र, अनुभव खुल्ने प्रमाणको प्रतिलिपि, व्यावसायीक कार्ययोजना, २ प्रति पासपोर्ट साइजको फोटो र कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमती पत्र नलिएको स्वघोषणा सहितका कागजात पेश गरेर दरखास्त बुझाउन सक्नेछन् ।

उम्मेदवारले पेश गरेको व्यावसायीक कार्ययोजना, अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मुल्यांकन गरि नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

गत भदौमा सरकारले अध्यक्षमा नियुक्त गरेका दिगम्बर झाले पुसमा राजिनामा दिएपछि प्राधिकरणको अध्यक्ष रिक्त रहेको छ ।

हाल सरकारले प्राधिकरणकै वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई ६ महिनाको लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here