चितवनकाे जलबिरे झरनामा रक क्लाइम्बिङ गर्न सकिने

काठमाडाैं, २७ जेठ । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको चितवनको इच्छाकामना–६ स्थित जलबिरे लामो झरनामा ‘रक क्लाइम्बिङ’ गर्न सकिने भएको छ ।

एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको परीक्षण गरेका हुन् । गु्रपका प्रबन्ध निर्देशक एवं प्रशिक्षक रुद्रबहादुर गुरुङले यहाँ चट्टान आरोहण सञ्चालन गर्न सकिने बताए । आफ्नो टोलीले शनिबार सफल परीक्षण गरेको गुरुङले बताए ।

गुरुङले भने, ‘यहाँ रक क्लाइम्बिङ सञ्चालन गर्न सकिनेछ, हामीले गत शनिबार मात्र सफल परीक्षण गरेका छौँ, यहाँ सुरक्षाका लागि ‘सिब्राकेट’, ‘रक एङ्गल’ र ‘मङ्की लेडर’ प्रयोग गर्न सकिनेछ भने ढुङ्गा झर्ने समस्या रोक्न ‘रक नेट’को प्रयोग गर्न सकिनेछ ।’

बालबालिकाको मनोरञ्जनका लागि छुट्टै क्यानोनिङको व्यावस्थासमेत गर्न सकिने बताइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जलबिरे झरनाको विकासका लागि जिल्ला विकास समिति हुँदादेखि नै विभिन्न काम हुँदै आएको र अहिले समन्वय समितिले प्रदेश सरकारसँग पूर्वाधार निर्माणका लागि पहल गरिरहेको बताए ।

चट्टान आरोहण सञ्चालन गरेपछि पर्यटकको आवागमन बढ्नेछ । गर्मी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बढेको जलबिरे लामो झरनाका अध्यक्ष देवकुमार गुरुङले बताए ।

इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिले एक वर्षदेखि घुमौँ इच्छाकामना अभियान सञ्चालन गरिरहेको छ । यस अवसरमा जलबिरे झरनामा चट्टान आरोहणको परीक्षण गरिएको हो । सो झरनामा पर्यटक आकर्षित गर्न के कस्ता सम्भावना छन् भनेर पत्ता लगाउन उक्त आरोहणको परीक्षण गरिएको इच्छाकामना घुमाैँ अभियानका चित्रबहादुर गुरुङले बताए ।

गुरुङका अनुसार यसअघि झरनाको तल्लो भागमा मात्र क्यानोनिङ गरिँदै आएको थियो । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्न यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । यहाँ प्रवेश गर्न स्वदेशी पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि स्वदेशीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ ।

यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ ।

साठी मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ ।

झरनामा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलबिरेबाट आधा घण्टा हिँडेर वा सवारीसाधनबाटै पनि पुग्न सकिन्छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here