तराईका १७ जिल्लामा टेलिकमले थप्यो २६० बीटीएस टावर

काठमाडाैं, २८ जेठ । नेपाल टेलिकमले मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका योजनाहरु तराईका जिल्लाहरुमा पनि प्राथमिकताका साथ अघि बढाएको छ ।

तराई तथा मधेश क्षेत्रमा मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिइएसँगै ती भेगका ग्रामीण वस्तीका वासिन्दालाई कम्पनीको सेवामार्फत सस्तो दरमा नेपाल तथा विदेशमा भएका आफन्तसँग कुराकानी गर्न र अन्य सुविधा लिन सहज भएको समेत टेलिकमले बताएको छ ।

यस आर्थिक वर्षमा हालसम्म कम्पनीले तराईका १७ जिल्लामा मात्र २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याइसकेको टेलिकमले जानकारी दिएको छ ।

तराईका मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरी लगायत जिल्लामा कम्पनीले ती बीटीएसहरु सञ्चालनमा ल्याएको हो ।

तराईका अधिकांश जिल्लामा कम्पनीका सेवा उपलब्ध भए तापनि दुर्गम र कम जनघनत्व भएका कतिपय वस्तीमा सेवाको पहुँच स्थापित भएको थिएन । पछिल्लो समयमा धेरै बीटीएस थप गरिएपछि तराईका ग्रामीण भेगमा पनि मोबाइल र इन्टरनेट सेवा सहज रुपले उपलब्ध भएको टेलिकमको दाबी छ ।

जतिसुकै दुर्गम र विकट स्थानमा रहेका भएपनि सबै नेपालीबीच कम्पनीको सेवा पु¥याई अत्याधुनिक सञ्चार सुविधा प्रदान गर्ने लक्ष्य बमोजिम ती स्थानमा पनि टुजी र थ्रीजी बीटीएस स्थापना गरी सेवा उपलब्ध गराइएको टेलिकमले बताएको छ ।

टेलिकमका अनुसार एक करोड जीएसएम आयोजना अन्तर्गत ‘प्याकेज ए’ को कार्य लगभग सम्पन्न हुने क्रममा छ । प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजना अन्तर्गत काठमाडौं उपत्यकाबाहेक मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बीटीएस टावर स्थापना गर्ने कार्य जारी रहेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

त्यस्तै कम्पनीको एक करोड जीएसएम आयोजनाका दुई प्याकेजमध्ये प्याकेज बी अन्तर्गत काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य पहिले नै शतप्रतिशत सम्पन्न भइसकेको पनि वैद्यले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here