हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्न पाउनुपर्ने विकास बैंकहरुको माग

काठमाडौं, ११ असार । विकास बैंकहरुले हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्न पाउनुपर्ने माग गरेका छन् । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने चर्चा चलिरहेको बेला बिकास बैंकहरुको यस्तो माग गरेका हुन ।

नेपाल व्यवस्थापन संघले शुक्रबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीतिसम्बन्धी छलफलमा बोल्दै विकास बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले विकास बैंकका लागि पुँजी वृद्धि गर्ने र त्यसका लागि हकप्रद सेयर जारी गर्न पाउने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरेका हुन् ।

विकास बैंकहरुको व्यवसाय खुम्चिंदै गएकाले यसलाई बचाउनका लागि पनि केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नयाँ व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

यसका साथै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषजस्ता वित्तीय संस्थासँग भएको कोषको प्रयोग विकास बैंकहरुले गर्न पाउने व्यवस्था गर्न पनि पोखरेलले माग गरेका छन् ।

स्वदेशी प्रतितपत्र खोल्ने अधिकार पनि विकास बैंकलाई दिन पनि उनको आग्रह छ ।

‘ख’ वर्गका विकास बैंकहरुको संख्या मर्जर र प्राप्तिसँगै घट्दै गएको छ । गत असार मसान्तसम्ममा नेपालमा २० ओटा विकास बैंक थिए र त्यसमध्ये आठ ओटाले मात्र राष्ट्रव्यापि कारोबार गर्ने सुविधा पाएका छन् ।

सरकारले ‘क’ वर्गका वाणिज्य बैंकहरुसँग मात्र कारोबार गर्दै आएको छ । विकास बैंकहरु भने वित्तीय सेवा विस्तार र समावेशिताका लागि विकास बैंकहरुलाई पनि अवसर दिनु पर्ने माग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here