मर्जरका लागि मिलेर आउनुहोस, अब हारगुहार गरेर केही हुनेवाला छैनः गभर्नर

काठमाडौं ३१, जेठ । मर्जरका लागि राम्रो संस्था खोजेर आउन लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले निर्देशन दिएका छन् । धेरै लघुवित्त संस्था उद्देश्यबाट विचलन भएकाले अब मर्जरको विकल्प नभएको उनले बताए । शुक्रबार आईबीएन मिडियाले आयोजना गरेको लघुवित्त संस्थाको मर्जर आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।

लघुवित्त संस्थाका गतिविधि राष्ट्र बैंकले शुक्ष्म रुपमा हेरिरहेको उनले बताए । ‘अहिले मर्जरका लागि ठिक समय हो । अब हारगुहार गरेर केही हुनेवाला छैन,’ उनले भने, ‘अझै एक महिना समय छ, आफै मिलेर आउनुहोस ।’

अपेक्षित रुपमा वित्तीय पहुँच नपुगेकै कारण राष्ट बैंकले लघुवित्त वित्तीय संस्थाप्रति केही खुकुलो नीति लिएको उनले बताए । ‘अब त्यो अवस्था छैन, यसकारण जसरी भए पनि संख्या घटाएर गुणस्तर बढाउनुपर्छ,’ उनले भने ।

सेयर बजारमा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यले कम्पनीको वास्तविक अवस्था प्रतिविम्बित गर्न नसकेको उनले बताए । यसकारण अव बास्तविकता लुकाएर लगानीकर्तालाई भ्रम नबाड्न उनले आग्रह गरे । ‘बजारको उचारचढाव मैले पनि देखेको छु,’ उनले भने, ‘यस्ता गतिविधि नियन्त्रण गर्ने तर्फ राष्ट्र बैंकले पनि सोचिरहेको छ ।’

कार्यक्रममा लघुवित्त वित्तीय संस्थाको वर्तमान अवस्था र मर्जर विषयक कार्यपत्र पनि प्रस्तुत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here