बेलायत तेस्रो लहरको कोरोना जोखिममा, ९० प्रतिशतमा डेल्टा भेरियन्ट पुष्टि

काठमाडौं । बेलायत कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिममा परेको छ ।

परीक्षण गरिएकामध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट पुष्टि भएसंगै बेलायत तेस्रो लहरको जोखिममा परेको हो । ्

पछिल्लो समय बेलायतमा दैनिक सङ्क्रमण बढ्दो अवस्थामा रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार एक महिनायता बेलायतमा सङ्क्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा १८ हजार दुई सय ७० जना कोरोना पुष्टि भएको छ ।

यो सङ्ख्या गत फेब्रुअरी ५ पछिको सबैभन्दा धेरै हो । २४ घण्टाभित्र कोरोनाका कारण २३ जनाको मृत्यु बेलायतमा भएको छ । हालसम्म बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४७ लाख १७ हजार आठ सय ११ पुगेको छ ।

एक लाख २८ हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण भइसकेको छ । ४३ लाख १४ हजारभन्दा बढी सङ्क्रमणमुक्त भइसकेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजारभन्दा धेरै रहेको छ ।

तेस्रो लहरको जोखिम बढेपछि बेलायतमा उच्च सतर्कता अपनाउने तयारी सरकारले गरेको छ । बेलायतमा पाइएको सङ्क्रमणमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट रहेको पुष्टि भएपछि सतर्कता अपनाएर कडाइ गर्न लागिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना विरुद्धको खोपका कारण सङ्क्रमितमा गम्भीर लक्षण देखा परेको छैन । सङ्क्रमण पुष्टि भएकाहरुले पनि धमाधम कोरोनालाई पराजित गरिरहेका छन् । खोपकै कारण गम्भीर लक्षण देखिएर स्वास्थ्य अवस्था जटिल बन्ने समस्या भने सङ्क्रमितमा नदेखिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here