११ महिनामा भित्रियो ४८ अर्बको चामल, सरकार भन्छ- ५ वर्ष भित्रमा आत्मनिर्भर

काठमाडौं, १७ असार । नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान देश नेपालले पछिल्लो ११ महिना (साउन-जेठ) मा कुल ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको छ ।

सो मूल्यमा १ अर्ब २६ करोड ६४ लाख केजी धान चामल आयात भएको भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो ।

चालू आवमा गत वर्षकोभन्दा १८ अर्ब बढीको धान चाम आयात भएको हो । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ३० अर्बको धान चामल आयात भएको थियो ।

चालू आवको जेठसम्म २८ अर्ब ६० करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । जबकी गत वर्षको सोही अवधिमा २१ अर्ब २० करोडको चामल आयत भएको थियो ।

आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ । नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गर्छ । जुन चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ । बर्खे धान पहाडी क्षेत्रमा धेरै रोपिन्छ ।

नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

५ वर्ष भित्रमा आत्मनिर्भर

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ५ वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने बताएका छन् । आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री पौडेलले धान उत्पादन बढाउने ठोस नीति तथा कार्यक्रम बिनै ५ वर्ष भित्र चामलमा आत्मनिर्भर हुने घोषण गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै २ वर्षभित्रमा नेपाललाई दूध र तरकारीमा आत्मनिर्भर गर्ने घोषणा गरेको छ । ३ वर्षभित्रमा गहुँ, मकै, कोदो र फापरमा आत्मनिर्भर हुने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here