प्रदेश नं १ मा कर्मचारीलाई आकर्षक प्याकेज, वर्षमा ६ दिन नगदसहित भ्रमण बिदा

काठमाडौं, २ असार । विगतमा केन्द्र सरकारले शुरु गरेपनि निरन्तरता दिन नसकेको बिदा पर्यटनको अवधारणालाई प्रदेश नं १ सरकारले शुरु गर्ने भएको छ ।

प्रदेश सरकारले आइतबार ल्याएको आगामी आर्थिक वर्ष २०७६\७७ को बजेटमा बिदा पर्यटनको कार्यक्रम समटिएको छ ।

प्रदेशले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेट कार्यान्वयनमा कर्मचारीको महत्वपूर्ण योगदान हुने भन्दै सरकारले प्रदेश कर्मचारीका लागि बिदा पर्यटनको अवधारणा ल्याएको हो ।

यस प्रदेशमा निरन्तर १ वर्षभन्दा बढी काम गरेका कर्मचारीले वर्षको ६ दिन भ्रमण बिदा सुविधा पाउने भएका छन् । उनीहरुलाई बिदाका साथमा प्रदेश सरकारले २५ हजार रुपैयाँ भ्रमण खर्च उपलब्ध गराउने छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा बिदा पर्यटन निकै प्रभावशाली मानिन्छ । खासगरी देशभित्र नागरिकलाई घुमघाममा अभ्यस्त बनाउने, पर्यटकीय माहौल सिर्जना गर्न, पर्यटनमा लागेका मानिसको जीवनस्तरमा सुधार गर्न बिदा पर्यटनल महत्वपूर्ण भूमिका खेल्छ ।

विगतमा केन्द्र सरकारले पर्यटन मन्त्रालय मातहत यो कार्यक्रम ल्याएर कार्यान्वयन गरेको थियो । तर, निरन्तरता दिन भने सकेन । छिमेकी मुलुक भारतका विभिन्न राज्यले पनि पकेट खर्चसहित आफ्नो कर्मचारीलाई बिदा पर्यटनमा पठाउने गर्छन् ।

यसबाट कर्मचारीको काम गर्ने क्षमतामा पनि वृद्धि हुने विश्वास लिइन्छ । प्रदेश नं १ ले पर्यटनसहित कृषि, उद्योग विकास, पूर्वाधारजस्ता क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।

प्रदेशलाई पाँच वर्ष भित्र मासु, अण्डा र माछामा आत्मनिर्भर बनाउने गरी कृषि क्षेत्रमा ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here