‘खनालको उपचारमा राज्य कोषबाट खर्च गर्न मिल्दैन’ गगन थापा

काठमाडौं, ६ साउन । नेपाली काङ्ग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारमा राज्यकोषबाट खर्च गर्न नमिल्ने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भारतको नयाँदिल्लीमा उपचाररत नेता खनालको उपचार खर्च सरकारले व्योहोर्ने बताएका थिए । तर, कानुन अनुसार विदेशमा उपचार गर्ने जो कोहीलाई राज्यकोषको ढुकुटीबाट खर्च दिन नमिल्ने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ र कानून २०७५ असोज २ बाट लागू भइसकेको छ,’ उनले लेखेका छन्,‘ यो कानून कार्यान्वयनमा आइसकेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन ।’

पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि खर्च जुटाउनु पर्ने अवस्था आए नेपाली नागरिक तयार रहेको बताउँदै उनले राज्यकोषको ढुकुटीबाट खर्च गर्न मिल्ने प्रावधान नभएको बताए ।

‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो,’ उनले लेखेका छन्,‘ अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं(प्रधानमन्त्री देउवा) सचेत हुनुहुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here