विश्वभर बढ्न थाले कोरोना संक्रमित, सबैभन्दा धेरै ब्राजिलमा

काठमाडौं, ७ साउन । केही दिनयता विश्वमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ ।

दैनिक सङ्क्रमण बढ्दै जाँदा कोरोनाले महामारीको अर्को रूप लिने सम्भावना बढेको छ । पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ४४ हजार नौ सय ८२ जना नयाँ बिरामी थपिएका छन् । यो सङ्ख्या केही दिनयताकै उच्च हो ।

कोरोना महामारीले विश्वलाई आक्रान्त पारेका बेला दैनिक विश्वमा सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । त्यो सङ्ख्या क्रमस घटेर तीन लाखभन्दा तल झरेको थियो । तर पछिल्लो समय फेरि सङ्क्रमण बढ्न थालेको हो ।

विश्वभर सङ्क्रमित सङ्ख्या १९ करोड २७ लाख ७९ हजार पाँच सय ३६ पुगेको छ । सङ्क्रमितमध्ये १७ करोड ५३ लाख १६ हजार तीन सय ७७ जना उपचारपछि निको हुँदै कोरोनामुक्त बनेका छन् । एकै दिन तीन लाख ९१ हजार तीन सय ११ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा निको हुनेभन्दा थपिएका सङ्क्रमितको सङ्ख्या धेरै छ । निको भएका भन्दा थपिने नयाँ बिरामीको सङ्ख्या एक लाख ५३ हजार छ सय ७१ ले बढी छ । विश्वमा एक करोड ३३ लाख २१ हजार तीन सय ६१ जनाको उपचार जारी रहेकोमा ८२ हजार एक सय ६५ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा दैनिक मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा आठ हजार चार सय ३१ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वभर ४१ लाख ४१ हजार सात सय ९८ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

महामारी उच्च विन्दुमा पुग्दा विश्वमा दैनिक १४ हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । पछिल्लो समय त्यो सङ्ख्या घटेर तीन हजार हाराहारीमा झरेको थियो । तर केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

कोरोना महामारी नियन्त्रणमा नआउँदै सङ्क्रमण फेरि बढ्न थालेपछि जनजीवनलाई निक्कै असर गर्ने अनुमान गरिएको छ । महामारी नियन्त्रणउन्मुख हुँदा सावधानी अपनाउने र स्वास्थ्य मापदण्डको पालना गर्ने कुरामा लापरबाही हुन थालेको थियो । पछिल्लो समय सङ्क्रमण बढ्नुमा लापरबाहीलाई मुख्य कारण मानिएको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । एकै दिन ५२ हजार सात सय २९ जना नयाँ बिरामी थपिएका छन् । अमेरिकामा दैनिक सङ्क्रमण कम भएर १० हजार हाराहारीमा झरेको थियो ।

महामारी उत्कर्षमा पुगेका बेला एक दिनमा एक लाखभन्दा बढी अमेरिकी नागरिकमा सङ्क्रमण पुष्टि हुने गरेको थियो । अमेरिकामा हालसम्म तीन करोड ५१ लाख ३९ हजार पाँच सय ६७ जनामा कोरोना यकिन भइसकेको छ । उपचारपछि दुई करोड ९४ लाख ५६ हजार चार सय ४५ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २० हजार नौ सय १४ जनाले मात्रै कोरोनालाई पराजित गर्न सकेका छन् । ५० लाख ५७ हजार तीन सय ३० जनाको उपचार जारी छ । उपचाररतमध्ये छ हजार चार सय ६० जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा एकै दिन चार सय १० सङ्क्रमितको मृत्यु भयो । यसअघि दैनिक मृत्यु दर कम भएर एक सयभन्दा तल झरेको थियो । हालसम्म कोरोना सङ्क्रमित छ लाख २५ हजार सात सय ९२ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन ४१ हजार छ सय ९७ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या तीन करोड १२ लाख ५६ हजार आठ सय ३९ पुगेको छ । तीन करोड चार लाख २१ हजार आठ सय १३ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ३८ हजार आठ सय १२ जना सङ्क्रमणमुक्त बनेका छन् । चार लाख १६ हजार पाँच जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा एकै दिन पाँच सय १० सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण हालसम्म चार लाख १९ हजार २१ जनाको मृत्यु भइसकेको छ । कोरोनाको दोस्रो भेरियन्टबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको भारत सङ्क्रमणबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वका विभिन्न मुलुकमा भन्दा ब्राजिलमा पछिल्लो २४ घण्टामा सङ्क्रमित धेरै थपिएका छन् । ब्राजिलमा एकै दिन ५४ हजार सात सय ४८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ९४ लाख ७४ हजार चार सय ८९ पुगेको छ ।

एक करोड ८२ लाख छ हजार एक सय ७३ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ८१ हजार पाँच सय ५२ जना सङ्क्रमणमुक्त बने । सात लाख २२ हजार छ सय २६ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

एकै दिन मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या पनि अरु मुलुकभन्दा ब्राजिलमै धेरै रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक हजार तीन सय ८८ जनाको मृत्यु भयो । हालसम्म पाँच लाख ४५ हजार छ सय ९० जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

महामारी चरम विन्दुमा पुग्दा ब्राजिलमा एकै दिन एक लाख १० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । तीन हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । तर त्यो सङ्ख्या क्रमस घट्दै गइरहेको थियो ।

तर पछिल्लो समय दैनिक सङ्क्रमण र मृत्यु दर बढ्न थालेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here