सानिमा लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् सजिलै नतिजा

काठमाडौं, ३० साउन । सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शनिवार बिहान ११ बजे शेयर बाँडफाँड गरेको हो।

सानिमा लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा बाँडफाँड भएको आइपीओ ५ लाख ४० हजारले १० कित्ताका दरले पाएका छन् । ५ हजार ४३४ आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

रितपूर्वक आवेदन दिएका २३ लाख ८ हजार १२२ जनामध्येबाट ५ लाख ४० हजारले १० कित्ता शेयर पाएका छन् । ती मध्ये पनि १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ । इन्स्योरेन्सको आवेदनमा नयाँ कीर्तिमान बनेको थियो । इन्स्यारेन्सको आइपीओमा अन्तिमदिन सम्ममा २४ लाख १९ हजार जनाले आवेदन दिएका थिए ।

यो नै अहिलेसम्मको धेरै हो यसअघि युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा सार्वधिक आवेदन परेको थियो। यो आइपीओमा झन्डै पौन २२ लाख आवेदन परेको थियो ।

सानिमा लाइफले इन्स्योरेन्सले बुधबार साउन २० गतेदेखि आइतबार साउन २४ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वेबसाइट बाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आइपीओ आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here