एमाले विवाद सहमति नजिक, दश बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

काठमाडौं, ७ भदौं । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच भएको छलफल सहमति नजिक पुगेको छ ।

अध्यक्ष ओलीको निवास बालकोटमा भएको छलफलमा कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने सहमति भएको हो । त्यसको लागि नेकपा एमालेले मंगलबार स्थायी कमिटीको बैठक बोलाएको छ ।

मंगलबार २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुनेछन् ।

सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ ।

बालकोटमा भएको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्नेछ ।

‘अहिले नै कुरा मिल्यो भनिहाल्न त मिल्दैन तर सकारात्मक वातावरण बनेको छ ती नेताले भने ।’ ‘हामी एमाले फुट रोक्न चाहन्छौं, दस बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनमा गएपछि त्यो विभाजन रोक्छ । माधव नेपालसहितका नेताहरूमाथि गरिएको कारवाही भोलिकै बैठकबाट फिर्ता हुने संभावना छ,’ उनले थपे ।

नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here