भदौ २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं, १९ भदौ । सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

बालुवाटारमा शनिबार बसेको भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् ।

संसद् अधिवेशन बोलाउने सिफारिस गर्ने निर्णय अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए ।

यसअघि शुक्रबार बेलुका पनि मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा देउवा, प्रचण्ड र नेपालबीच छलफल भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । निर्वाचन आयोगले एकीकृत समाजवादी रोज्नेका लागि भदौ २२ गतेसम्म समय दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गठबन्धनका शीर्ष नेताबीच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here