१७ वर्षीय युवकको शरीरमा एक किलोको पत्थरी !

काठमाडौं । १७ वर्षीय युवकको शरीरबाट नरिवल आकारको एक किलोको पत्थरी निकालिएको छ ।

भारतको मुम्बईमा डाक्टरहरूले शल्यक्रिया गरी कलकत्ताका वासिन्दा रुबेन शेखको मूत्रथैलीबाट एक किलोको पत्थरी निकालेका हुन् । रुबेनको मूत्रथैलीमा जन्मदेखि नै एक्सट्रफी एपिस्पेडियाज कम्प्लेक्स (इइसी) नामक रोग एक लाखमध्ये एक जनामा हुने हुँदा यो निकै दुर्लभ रोग मानिन्छ । यस्तो समस्या भएको व्यक्तिमा सामान्य तरिकाले पिसाब भन्डारण हुन तथा मूत्रथैलीले काम गर्न सक्दैन ।

जसकारण उनीहरूमा पिसाब चुहिरहने समस्या हुन्छ । १५ वर्षअघि पनि इइसीका लागि रुबेनको शल्यक्रिया गरी मूत्रथैलीको आकार बढाइएको थियो । तर, शल्यक्रिया फलोअप नगरेको हुँदा समस्या समाधान नभई उनको थैलीमा पत्थरी जम्दै गयो र समस्या बढ्दै गयो । उनले पिसाब रोक्नै नसक्ने र मूत्रथैलीमा दुखाइ पनि बढ्दै गएपछि पुराना डाक्टरलाई सम्पर्क गरेका थिए ।

रुबेन आफ्ना आफन्तसँग पहिलो शल्यक्रिया गर्ने मुम्बइस्थित डाक्टरकहाँ मुम्बइ आए । डाक्टरसहितको टिमले शल्यक्रिया गरेर उनको मूत्रथैलीबाट क्याल्सियम अक्जालेटको पत्थरी निकाले जुन एक किलोको रहेको थियो । डाक्टरहरूले उनको मूत्रासयको तन्किएको भागलाई पनि ठिक पारेका छन् । अहिले रुबेन पूर्णरुपमा स्वस्थ भएको र उनको मिर्गौलाले राम्रो काम गरिरहेको जनाइएको छ ।

अनाथ रहेका रुबेनसँग उपचार गर्न पैसा नभएका कारण अस्पतालले उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो । – हिन्दुस्तान टाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here