खाने तेलको मूल्य राष्ट्रिय/अन्तर्राष्ट्रिय कारकले बढायो : संघ

काठमाडौं । राष्ट्रिय/अन्तर्राष्ट्रिय असरको कारण नेपालमा खाने तेलको मूल्य बढेको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ ।

विभिन्न सञ्चार माध्यममा खाने तेलको मूल्यवृद्धि भनेर आएका समाचारप्रति संघको ध्यानआकर्षण भएको संघले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

कोरोना महारमारीसँगै कच्चा पदार्थको मूल्य र ढुवानी खर्च पनि बढेकाले तेलको मूल्यवृद्धि गर्नु परेको संघले जनाएको छ ।

भन्सार महशुल र मूल्य अभिवृद्धि करसँगै १७ महिनाको अवधिमा कच्चा पदार्थमा दोब्बर मूल्यवृद्धि हुँदा त्यसको असर नेपालका उद्योगमा परेको हो । गत वर्ष सरदर प्रतिलिटर २० रूपैयाँ महशुल तिर्नु परेको र अहिले वृद्धि भएर ४५ रूपैयाँ पुगेको संघले स्पष्ट पारेको छ ।

कोरोना महामारीको असरका कारण ढुवानी भाडा र इन्धनमा मूल्यवृद्धि भएको एवं ढुवानीमा दोब्बर बढी समय खर्चनु पर्दा तेलमा प्रतिलिटर २० देखि २५ रूपैयाँसम्म मूल्यवृद्धि हुन पुगेको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा कच्चा पदार्थ र प्याकिङमा प्रयोग हुने सामग्रीको मूल्यसमेत अन्तर्राष्ट्रिय बजारमा बढेकाले नेपालमा तेलको मूल्यमा पनि वृद्धि भएको जनाइएको छ ।

हालसम्म पनि आन्तर्राष्ट्रिय चलन चल्ती अनुसार नेपालमा भने मूल्य समायोजन हुन नसकेको संघले उल्लेख गरेको छ । एक महिनाअघि भने तेलको मूल्य घटेको थियो । पछिल्लो समय भटमास, तोरी, सूर्यमुखी लगायतका तेलको मूल्य बढेको छ ।

पछिल्लो समय खानेतेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत अध्ययन थालेको छ । बजारमा भाउ बढ्नेवित्तिकै कारबाही गर्न नमिल्ने भएकाले वास्तविकता बुझ्नतर्फ विभाग लागेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पूर्ण निर्भर हुनपर्ने कच्चा सामग्रीको मूल्य बढ्नु र ढुवानी लागतमा भएको वृद्धि लगायतले तेलको मूल्य बढाउनु परेको संघले स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here