नोटको जतन कसरी गर्ने ? यस्तो छ राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ । बिहीवार एक सूचना निकालेर नोटको जतन गर्न सल्लाह सुझाव दिएको हो ।

सूचनामा नोट सबैको सम्पत्ति र सभ्यताको प्रतीक भएकाले यसलाई सफा राख्न अनुरोध गरिएको छ ।

यस्तै ‘नोटलाई जतनसाथ प्रयोग गरौँ, मनी ब्यागको प्रयोग गर्ने बानी बसालौँ, कारोबारको भुक्तानीमा सकेसम्म विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोग गरौँ’ भन्ने व्यहोरा उल्लेख गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

यसैगरी धार्मिक कामहरुमा पनि नोटमा रङ, पानी, दुध र रगत नपार्ने बरु त्यसको सट्टा खाममा पैसा हालेर दिने काम गर्न राष्ट्र बैंकले सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकको अनुरोध

– नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौं ।

– नोटमा जथाभावी केरमेट नगरौं ।

– समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।

– नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पत्ति खर्चिनुपर्ने भएकाले नोटको जतन गरी देशको सम्पत्ति जौगाऔं ।

– नोटलाई माटो, धमीरा, आगो र पानीबाट जोगाऔं । नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौं ।

– नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गरौं र अरुलाई पनि सिकाऔं ।

– नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौं।

– पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरूले सकेसम्म नछोऔं ।

– नोट टांचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने भएकाले जतन गरौँ ।

-‘नोटमा स्टिचको प्रयोग नगरौँ, भुक्तानी कारोबारमा जाली वा शङ्कास्पद नोटहरू पाइएमा नजिकैको राष्ट्र बैंकमा वा अन्य बैंकमा खबर गरौँ, नोटमा रङ्ग, पानी, दूध, रगतलगायत नपारौँ’ लगायतका सचेतना जगाउने काम गर्न विभागले आग्रह गरेको छ ।