दशैंका लागि मासुजन्य चौपायामा स्वदेशी उत्पादनले माग धान्ने

काठमाडौं, १३ असोज । नजिकिँदै गरेको दशैँका लागि मासुजन्य चौपायामा मुलुक आत्मनिर्भर देखिएको छ ।

पछिल्लो समय नेपालमा खसी,बोका,च्याङ्ग्रा र भेडा चौपायाको उत्पादन बढेको कारण नेपाल मासुजन्य चौपायामा मुलुक आत्मनिर्भर देखिएको हो ।

जसको कारण यस पटकको दशैमा बाहिरी देशबाट मासुजन्य चौपाया आयात नहुने भएको छ।

नेपालमै आवश्यक अनुसार नै मासुजन्य चौपायाको माग आपूर्ति हुने भएकाले व्यवसायीहरूले बाहिरबाट आयात नगर्ने भएका हुन्। घटस्थापनाको दिनदेखि काठमाडौं उपत्यकामा चौपाया ल्याउने सरकार र व्यवसायीको तयारी छ।

पशु सेवा विभागका सहायक सूचना अधिकारी श्यामसुन्दर यादवले बाहिरी मुलुकबाट मासुजन्य चौपाया आयात नगर्ने जानाकारी दिए ।

‘मासुका लागि नेपालमै उत्पादन भएका चौपायाले नै पुग्ने भएकाले बाहिरबाट नल्याउने व्यवसायीहरूले भनिसकेका छन्,यहीँकै उत्पादित बिक्री वितरण हुन्छ उनले भने ।’

सरकार र चौपाया खरिद व्यवसायीहरूले बर्सेनि दशैँ र तिहार पर्वका लागि चौपायाको अपुग हुने हुँदा च्याङ्ग्रा चीन र खसीबोका भारतबाट निर्यात गर्ने गरेको थियो।

नेपालमा वार्षिक ५ लाख ४९ हजार ३ सय ३२ मेट्रिक टन मासु खपत हुनेगरेको विभागको तथ्यांकले देखाएको छ ।

जसमा ५ लाख ४८ हजार ९ सय ३४ मेट्रिक टन मासु स्वदेशी उत्पादन हो भने ३ सय ९८ मेट्रिक टन मासु भारतबाट आउने गरेको छ ।

नेपालमा वर्ष १ करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ ।

जसमा ४५ लाख खसीबोका मासुका लागि योग्य हुने विभागको भनाइ छ ।