दुई महिनामा १५ अर्ब रुपैयाँको सुनचाँदी आयात

काठमाडौं, १३ असोज । नेपालमा दुई महिनाको अवधिमा १५ अर्ब बढीको सुनचाँदी आयात भएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को भदौ महिना मसान्तसम्ममा ८ अर्ब ३५ करोड ७७ लाख ६७ हजार रुपैयाँ बराबरको सुन र ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको हो ।

भन्सार विभागका तथ्यांक अनुसार दुई महिनामा १ हजार २१५ किलो सुन र ६९ हजार १५२ केजी चाँदी आयात भएको छ। साउन र भदौमा सुन र चाँदी गरी कुल १५ अर्ब १ करोड ६६ लाख रुपैयाँ बाहिरिएको छ ।

नेपालमा सबैभन्दा बढी सुन यूएईबाट आयात भएको छ । भदौ मसान्तसम्म उक्त देशबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको विभागले जनाएको छ । यूएईबाट ८६० केजी बढी सुन आयात भएको हो ।

यस्तै, टर्कीबाट भने २ अर्ब ४३ करोड ४० लाख २७ हजार रुपैयाँ बराबरको सुन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । टर्कीबाट ३५४ केजी बढी सुन नेपाल भित्रिएको हो ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना नै ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो।

एक महिनामा ४५८ किलो सुन आयात भएको विभागको तथ्यांकले देखाउँछ। दोस्रो महिना सुनको आयात अझै धेरै बढेको छ। दोस्रो महिनामा सुनको आयात झनै धेरै बढेको छ। दोस्रो महिना करिब ८०० किलो सुन भित्रिएको छ।

गत आर्थिक वर्षको दशैंसम्ममा बैंकहरुले जम्मा १०० किलो सुन आयात गरेका थिए। गत साउन र भदौ महिनामा १३ करोड ५७ लाख रुपैयाँभन्दा धेरैको सुनका गहना निर्यात समेत भएको छ।

सुनको आयात बढे पनि बजारमा भने सुनको अभाव देखिएको छ। चाडपर्वको बेला सुनको खपत बढेकोले बजारमा अभाव भएको भन्दै व्यवसायीले केन्द्रीय बैंकलाई सुन आयातको कोटा बढाउन माग गरिरहेका छन्।

नेपाल राष्ट्र बैंकले केही महिना अघि अर्थात गत चैतमा १० केजीको सीमालाई बढाएर २० केजी पुर्याएको थियो तर अहिले उक्त २० केजीको सीमाले पनि बजारको अभाव टार्न नसकेको अवस्था छ। अहिले व्यवसायीले बैंकबाट दैनिक २० केजी सुन लिन पाँउछन्।