साढे दुई महिनामा उठ्यो २ खर्ब राजश्व, विकास खर्च भने ३ अर्ब ८१ करोड मात्रै

काठमाडौं, १५ असोज । सरकारले चालु आर्थिक वर्षको साढे दुई महिनमा एक खर्ब ९८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार कर शीर्षक अन्तर्गत एक खर्ब ७७ अर्ब ९३ लाख र गैरकर शीर्षक अन्तर्गत २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षको पहिलो साढे दुई महिना (साउन १ गतेदेखि असोज १४ गतेसम्म) मा निर्धारित लक्ष्यको १७.३७ प्रतिशत राजश्व संकलन गरेको हो । चालु आर्थिक वर्षका लागि सरकारले १० खर्ब ५० अर्ब ८२ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यस्तै, सरकारले आर्थिक वर्षको पहिलो साढे २ महिनामा कूल १ खर्ब ३२ अर्ब ६६ करोड बजेट खर्च गरेको छ । यो कुल बजेटको ८.७४ प्रतिशत हो । सरकारले चालू वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले भदौसम्म चालूगत खर्च अन्तर्गत ९८ अर्ब २ करोड ७० लाख खर्च गरेको छ भने पूँजीगत तर्फ ३ अर्ब ८१ करोड रुपैयाँ मात्र खर्च गरेको छ ।

चालुगत खर्च यो शीर्षकको कुल बजेटको १०.७६ प्रतिशत हो भने पूँजीगत खर्च ०.९३ प्रतिशत मात्र हो । वित्त व्यवस्थापन तर्फ सरकारले ३० खर्ब ८३ करोड २३ लाख खर्च गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

जसमा चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड, पूँजीगत खर्च तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here