निक्षेपकर्तालाई उपहार दिन नपाइने, आधार दरलाई स्वतः कोर बैंकिङ सिस्टममा जोड्नु पर्ने

काठमाडौं २७, असोज । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ब्याजदर परिवर्तनमा गर्दै आएको मनपरी पनि नियन्त्रण गरेको छ । जसअनुसार एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको छुट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन ।

तर ऋणीले जुन उद्देश्यका लागि कर्जा लिएको हो सो उद्देश्यमा कर्जा प्रयोग नगरेको र धितो सम्पत्तिमा हानि–नोक्सानी पु¥याउने कार्य गरेको पाइएमा कानुनबमोजिमको हर्जाना दर थप गर्न यो व्यवस्थाले बाधा पु¥याएको नमानिने राष्ट्र बैंकको निर्देशन छ ।

परिवर्तनीय ब्याजदर आधारदरसँग आबद्ध गर्दा बैंक तथा वित्तीय संस्थाको ‘कोर बैंकिङ सिस्टम’ मार्फत त्रैमासिक औसत आधारदरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ ।

ब्याज पुँजीकरणका लागि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र राष्ट्र बैंकमा पुँजीकरणका लागि निवेदन पेस गर्नुपर्ने पनि व्यवस्था गरिएको छ ।