पाँच फाइनान्समाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं, ७ कात्तिक । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा पाँचवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

केन्द्रीय बैंकले स्थलगत सुपरीवेक्षण गर्दा वित्तीय अनुशासन नमानेको पाइएपछि फाइनान्स कम्पनीहरुलाई जरिवाना सहितको कारबाही गरेको हो ।

राष्ट्र बैंकको कारबाही पर्नेमा समृद्धि, गुडविल, ललितपुर, सिटी एक्सप्रेस र जानकी फाइनान्स रहेको छ । त्यस्तै समृद्धि र गुडविल फाइनान्सलाई अनिवार्य मौज्दात कायम नगर्दा कारबाही गरेको हो ।

त्यस्तै तोकिएको दरमा विपन्न वर्गको कर्जा प्रवाह गर्न नसक्दा र सीसीडी अनुपात कायम नगरेको ललितपुर फाइनान्स ३ पटक कारबाहीमा परेको छ । त्यस्तै, सिटी एक्सप्रेस र जानाकी फाइनान्सलाई पनि विपन्न विपन्न वर्गको कर्जा प्रवाह गर्न नसकेकोमा कारबाही गरेको हो ।

तोके बमोजिम विपन्न वर्ग कर्जा परिचालन नगरेको सिटी एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार ७५१ रुपैयाँ र जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार ३०८ रुपैयाँ जरिवाना गरिएको छ ।

ललितपुरले गत वर्षको प्रथम त्रैमासमा तोकिएअनुसार विपन्न वर्ग कर्जा परिचालन नगर्दा ७ लाख ११ हजार ६४६ रुपैयाँ, तेस्रो त्रैमासमा ६ लाख ६७ हजार २७३ र ६ लाख ७८ हजार ७३ रुपैयाँ जरिवाना गरिएको छ ।

यसका साथै, गत वर्ष तोकिएको सीसीडी रेसिया कायम नगर्दा ललितपुर फाइनान्स ६४ हजार ५७२ रुपैयाँ जरिवानामा परेको छ ।

राष्ट्र बैंकले ती फाइनान्स कम्पनीहरुलाई कारबाही स्वरुप ५५ लाख ७६ हजार रुपैयाँ हर्जाना समेत तिराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here