प्रधानन्यायाधीश जबराले राजीनामा नगरे देशव्यापी आन्दोलन गर्ने बारको निर्णय

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नगरे देशव्यापी आन्दोलनमा उत्रने निर्णय नेपाल बार एसोसिएसनले गरेको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन समेत आह्वान गरेको छ । उनले राजीनामा नदिएको अवस्थामा भने देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य बारको चेतावनी छ ।

निर्णयमा भनिएको छ, ‘सम्माननीय प्रधानन्यायाधीशज्यू निरन्तर रुपमा एक पछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समय न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिकाप्रति नै गम्भीर प्रश्न उठेकोले अब उप्रान्त उहाँबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने र यस विषम र विकराल परिस्थितिलाई समाधान गरी सबैको विश्वास जितेर समस्या समाधान गर्न असफल र असक्षम भई सक्नु भएकोले वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराज्यूले अविलम्ब राजीनामा दिई मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ ।’ न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको समेत बारले आलोचना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here