घरबाटै यसरी बुझाउनुहोस् काठमाडौं महानगरपालिकाको कर

काठमाडौं । काठमाडौं महानगरपालिकाको कर भुक्तानी अनलाइन माध्यम मार्फत तिर्न सकिनेछ ।

यससँगै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएकोले यस सुविधाले करदातालाई सहज भएको विश्वास महानगरले गरेको छ ।

अनलाइन माध्यम मार्फत कर तिर्ने सुविधा शुरुभएदेखि हालसम्म १०० जनाले यो सुविधा लिएको महानगरका राजस्व विभाग प्रमुख शिव अधिकारीले क्लाउड पत्रिकालाई बताए ।

अनलाइन कर मार्फत १५ लाखभन्दा धेरै राजस्व संकलन भएको छ । साथै सबैलाई यो सुविधा प्रयोग गर्न काठमाडौं महानगरले अनुरोध गरेको छ ।

पालिकाको स्थानीय कर व्यक्ति एवं संस्थाको खाताबाटै सिधै तिर्नको लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण प्रविष्ट गराएर करदाता संकेत नम्बर लिनुपर्नेछ ।

यसरी तिर्नुहोस् घरबाटै काठमाडौं महानगरपालिकाको कर

१. सर्वप्रथम सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण प्रविष्ट गराएर करदाता संकेत नम्बर लिने । तर गत वर्ष सफ्टवेयरबाट कर बुझाइसकेको भए रसिदबाट समेत करदाता संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सकिन्छ ।

२. त्यसपछि अनलाइन पोर्टल http://https://eservice.kathmandu.gov.np/ जाने ।

३. करदाता संकेत नम्बर र आन्तरिक संकेत नम्बर यहाँ क्लिक गर्नुहोस् ।

४. त्यसपछि ‘नयाँ प्रयोगकर्ता ? यहाँ दर्ता गर्नुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।

५. करदाता पोर्टलको फारम भर्नुहोस् ।

६. तपाईंको ई-मेल वा मोबाइल नम्बरमा आएको ओटीपी कोड करदाता पोर्टलमा राख्नुहोस् ।

७. आफ्नो सुरक्षित पासवर्ड राखेर ‘दर्ता गर्नुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।

८. पुनः तपाईंको फोन वा ई-मेल आईडीमा प्राप्त भएको ओटीपी कोड राखेर ‘पेस गर्नुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।

९. लग ईन गर्नको लागि युजर नेमको ठाउँमा नयाँ आन्तरिक संकेत राख्नुहोस् र पासवर्ड राख्नुहोस् ।

१०. लग ईन गरिसकेपछि ‘करदाता’मा क्लिक गर्नुहोस् ।

११. ‘भुक्तानीमा क्लिक गर्नुहोस् ।

१२. अब कर तिर्नका लागि ई-सेवा, कनेक्ट आईपीएस, फोन-पे, खल्ती आदि मध्ये आफूले चाहे अनुसारको सेवा प्रदायक छनौट गर्नुहोस् र त्यसमा लग ईन गरी भुक्तानी सुनिश्चित गर्नुहोस् ।

(यदि यो प्रणालीमा कुनै समस्या देखिएको खण्डमा ०१-५३६७३९० वा ९८५१०४५०८८ मा फोन गर्न सकिने महानगरले जनाएको छ । यसका साथै यहाँ क्लिक गरेर यो सिस्टम सम्बन्धी जिज्ञासा मेट्न समेत सक्नुहुनेछ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here