दक्षिण एशियाली क्षेत्रका ४० करोड बालबालिका पढाइबाट वञ्चित

काठमाडौं, २४ मंसिर । कोरोना महामारीले दक्षिण एशियाली क्षेत्रका ४० करोडभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएको निष्कर्ष निकालेको छ ।

युनिसेफले ७५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनमा यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले असमान प्रभाव पारेको उल्लेख गरेको छ ।

दक्षिण एशियाका सरकारहरूले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका तथा तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा, सुरक्षा लगायत सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक भएको जनाएको छ ।

महामारीको समयमा अन्य क्षेत्रको तुलनामा दक्षिणएशियाका विद्यालयहरू सबैभन्दा लामो समयसम्म बन्द भएका थिए। 

इन्टरनेटमा जोडिन नसकेका र डिजिटल उपकरण खरीद गर्नका लागि आर्थिक समस्या भएको क्षेत्रका ४० करोडभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएका थिए ।

परिणाम स्वरूप दुर्गम क्षेत्रका गरीब बालबालिका, किशोरी र अपाङ्गता भएका विद्यार्थी सिकाइका अवसरमा असमान रूपमा प्रभावित भएको यूनिसेफले जनाएको छ। 

युनिसेफका अनुसार, बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीका लागि पनि तयारी अवस्थामा रहनु पर्ने जनाएको छ ।

युनिसेफले आफ्नो प्रतिवेदनमा अफगानिस्तान, बंगलदेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कालाई समेटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here