भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका चारजनाको मृत्यु

काठमाडौं, १५ पुस । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा चार जना मेत फेला परेका छन्।

अस्पतालका कार्यालय सहयोगी समेत रहेका भट्टराई र उनका परिवारका थप तीन सदस्य बिहीबार बिहान मृत फेला परेका हुन्।

मृत्यु हुनेमा कर्णाली प्रदेश मेडिकल स्टोरमा कार्यालय सहयोगी पदमा कार्यरत बसेका २६ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको ३ महिनाको छोरा इप्सन भट्टराई, आमा ६५ वर्षीया कोपिला र ३५ वर्षीया नन्दकला भट्टराई रहेका छन् ।

उनिहरुको निस्सासिएर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सातजनाको परिवार अस्पताल परिसरमै रहेको क्वाटरको एक कोठामा सुतेका थिए। सँगै कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा भेटिएका छन्।

अधिकारीकाअनुसार धर्मराजकी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, साढे तीन बर्षीय छोरा दिवस भट्टराई, १८ वर्षीय भाई नरेन्द्र भट्टराईको अस्पतालमा उपचार भइरहेको छ।

बिहान अबेरसम्म ढोका नखुलेपछि प्रहरी पुगेर ढोका खोल्दा सबैजना बेहोस अवस्थामा फेला परेका हुन्।

उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।