किन जान्छ झ्याप–झ्याप बिजुली, प्राधिकरण भन्छ- प्राविधिक समस्या

काठमाडौ, १५ पुस । सरकारले बिजुलीको खपत बढाउन सर्वसाधारणलाई आग्रह गरेपनि उपत्यकामा भने समस्या देखा पर्न थालेको छ। बुधवार दिनभरको वर्षाले चिसो बढेसँगै उक्त समस्या झनै थपिएको छ ।

नेपाल विद्युत् आत्मनिर्भर हुँदै गएको भन्दै विद्युत् प्राधिकरणले पर्याप्त विद्युत् उपलब्ध भएको जनाएपनि झ्याप झ्याप बत्ती जाने समस्या देखापरेको सर्वसाधारणहरूले गुनासो गरेका छन् ।

पटक–पटक बिजुली जाने गरेको गुनासो सामाजिक सञ्जालदेखि चियापसलसम्म गर्ने क्रम बढेको छ ।

चिसोको कारण तातोको लागि विद्युतीय उपकरणको प्रयोग बढी भएको कारण विद्युतभन्दा पनि ट्रान्सफर्मर र सव–स्टेसनमा बढी भार परेर बत्ती गएको नेपाल विद्युत्‌ प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

बुधवार साँझ विद्युत्‌ प्रणालीमा १ हजार ६९९ मेगावाट बिजुली माग भएको थियो। यो अहिलेसम्मकै उच्च माग हो।

जसका कारण कैयौं स्थानमा बिजुलीका ट्रान्सफर्मर जले, तार चुँडिए प्राविधिक समस्याका कारण विद्युत्‌ आपूर्तिमा समस्या आएको उनले भने । बिजुलीको माग थपिने बित्तिकै प्रणालीले नथेगेर ट्रान्सफर्मर जल्ने, फ्युज उड्ने, तार जल्ने लगायत समस्या निम्तिने गरेको उनले बताए ।

बुधबारको विद्युत्‌ माग थेग्न विद्युत्‌ प्राधिकरणका आयोजनाबाट ४८० मेगावाट, सहायक कम्पनीबाट ४४७ मेगावाट, स्वतन्त्र ऊर्जा उत्पादकका परियोजनाबाट ४३७ मेगावाट तथा नपुग बिजुली भारतबाट १४३ मेगावाट आयात गरिएको थियो।

प्राधिकरणले अहिले वितरण प्रणालीमा रहेका समस्या समाधानका लागि ट्रान्सफर्मरहरू फेर्ने, प्रसारण र वितरण लाइन विस्तार गर्ने, जमीनमुनिबाट तार बिछ्याउने लगायत काम गरिरहेको छ ।

नेपालमा करीब २ हजार मेगावाट जडित क्षमताका जलविद्युत्‌ आयोजना सञ्चालनमा छन्। मुलुकमा विसं १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुवात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here