कालीमाटी ‘तरुलमय’: माघे संक्रान्ति लक्षित १ हजार टन तरुल भित्रियो, ९० प्रतिशत स्वदेशी

काठमाडौं, ३० पुस । माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको माग बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार लगायत देशको विभिन्न ठाँउमा माघे संक्रान्तिको चहलपहलले तरुलको व्यापार बढ्न थालेको छ ।

माघे संक्रान्तिमा तरुल खाने नेपाली संस्कारका कारण काठमाडौंमा यसपटक १ हजार २९ टन तरुल भित्रिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार बिहीवारसम्म १ हजार ७२० टन तरुल लगायतका कन्दमुल भित्रिएका छन् ।

जसमध्य १ हजार २९ टन तरूल, २९३ टन पिडालु र १९८ टन सखरखण्डा उपत्यकाबाहिर बाट काठमाडौं भित्रिएको उनले क्लाउड पत्रिकालाई बताए ।

कालीमाटी तरकारी बजारमा हाल बन तरुल, निलो घर तरुल, सेतो तरुल, सिमल तरुत तथा अन्य विभिन्न प्रकारका तरुलहरु किनबेच भैरहेको छ ।

‘तरुल धेरै आउने भनेको पुस महिनामा नै हो, यो वर्ष माघे संक्रान्ति लक्षित तरुल १ हजार २९ टन कालीमाटी भित्रिसकेको छ’ उनले क्लाउड पत्रिकासँग भने, ‘आजको दिन पनि बाँकी नै छ, त्यसकारण अझै बढ्ने अनुमान गरिएको छ ।’

यस वर्ष बैशाखको सुरुवात देखि हालसम्मको तथ्यांक हेर्ने हो भने २ हजार ६ सय ८० टन तरुलजन्य कन्दमुल कालीमाटी बजारमा भित्रिएको तथ्यांक छ।

सर्लाहीबाट ४५ प्रतिशत

श्रेष्ठका अनुसार यो माघे संक्रान्तिमा हालसम्म सबैभन्दा धेरै तरुल सर्लाही जिल्लाबाट आएको छ । यो समयमा सर्लाहीबाट आउने तरूलले उपत्यकाको ४५ प्रतिशत माग परिपूर्ति गर्ने बताए ।

‘हालसम्म सबैभन्दा धेरै तरुल सर्लाही जिल्लाबाट आएको छ’ उनले क्लाउड पत्रिकासँग भने ।

यसका साथै यसका साथै, घादिङ्ग, सुनसरी, नुवाकोट र नवलपरासीबाट तरुल आएको छ भने अन्य जिल्लाहरुबाट पनि राम्रै परिमाणमा तरुल भित्रिएको छ ।

उपत्यकाभित्र खपत हुने तरुलजन्य कन्दमुल ९० प्रतिशत स्वदेशी उत्पादन हुन्। बाँकी १० प्रतिशत भने भारतबाट ल्याइन्छ। समितिको तथ्यांक अनुसार पुस अन्तिमसम्म भारतबाट १३७ टन तरुल आयात भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here