नेकपा विशाल नदी, छुट्टिएका भंगालाहरु फेरी मिसिन्छन्: प्रधानमन्त्री ओली

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताएका छन् ।

विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायाँबायाँ लागे पनि केहि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने बताए ।

‘कहिले ढिस्काले बाटो छेकेर भंगालाहरु यताउति लाग्छन्, कहिले बाटो भूलेर’ प्रधानमन्त्री ओलीले भने ‘पुल मुनी भंगालै भंगालामा छरिएको नारायणी नदी अलि तल पुगेपछि मुल बहावमै मिसिन्छन् । त्यस्तै कम्यूनिष्ट पार्टीबाट बेला बेलामा छुटिएर गएका साथीहरु फेरी अहिले मुलधारमै आउनु भएको छ । वहाँहरुलाई स्वागत छ ।’

प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने बताए छ ।

‘देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्ने होइन । आउनुहोस सबै मिलौं देश बनाउँ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले केही केहिले परपरैबाट पार्टी र सरकारको आलोचना गर्ने गरेको बताए । ‘बहुदलमा आलोचना गर्न पाइन्छ । चुनाव पनि हार्नु आलोचना पनि गर्न नपाउनु त भएन नि’ प्रधानमन्त्री ओलीले भने, ‘जति आलोचना गरे पनि सरकार देशमा सुशासन कायम गर्ने अभियानमा दृढ संकल्पित छ ।’

कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेताहरु कल्पना धमला,देवेन्द्र पराजुली,गुणखर भूसाल,मनु हुमागाईं लगायत नेकपामा प्रवेश गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री एवं अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here